नारद कोहार
तौलिहवा(कपिलबस्तु), चैत ६ गते । जातीय विभेदमुक्त समाजका लागि सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरुले जोड दिनुभएको छ । ६१ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा यशोधरा गाउँपालिकामा सहभोज तथा अन्तरक्रिया कार्यक्रम सो कुरामा जोड दिइएको हो ।
“विभेदरहित समतामूलक समाज, जातीय विभेद हटाऔँ, न्यायपूर्ण समाज बनाऔँ” भन्ने नारासहित आयोजित कार्यक्रममा जातीय विभेद अन्त्य गरी समानता, सामाजिक न्याय र सहअस्तित्वमा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
सो अवसरमा बोल्दै गाँउपालिकाका अध्यक्ष शिवदयाल तिवारीले जातीय विभेद र छुवाछूतजस्ता अमानवीय व्यवहार सभ्य समाजका लागि कलङ्क भएको बताउनुभयो । उहाँले संविधानले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरेको भएपनि व्यवहारमा अझै विभेदका घटना देखिनु चिन्ताको विषय भएको बताउनुभयो । स्थानीय तह सबै समुदायलाई समान अवसर, सम्मान र न्याय दिलाउने दिशामा प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
वडा ७ का वडाध्यक्ष चन्द्रप्रकाश दुबेले जातीय विभेद अन्त्य गर्नु सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले शिक्षा, सचेतना र व्यवहारगत परिवर्तनमार्फत मात्र विभेदरहित समाज निर्माण सम्भव हुने धारणा राख्नुभयो । यस्ता कार्यक्रमले समाजमा आपसी विश्वास, सद्भाव र एकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने उहाँले बताउनुभयो ।
दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले कानुनी रूपमा जातीय विभेद र छुवाछूत दण्डनीय अपराध भए पनि व्यवहारमा यसको प्रभाव अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विस्तार अपरिहार्य रहेको बताउनुभयो । दलित समुदायको सम्मान, अधिकार र अवसर सुनिश्चित नभएसम्म समतामूलक समाज निर्माण अधुरो रहने उहाँको भनाइ छ ।
सूचना महिला सञ्जालकी अध्यक्ष श्यामकली रैदासको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका सल्लाहकार राधेश्याम पाठक, महिला तथा बालबालिका शाखाकी प्रमुख रमा पन्थी, कार्यपालिका सदस्य रामकिशोर बरई, सेचन करुणा संस्थाका मिनकु यादव, दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य अञ्जना तेलीले राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि गोविन्द धवलले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन विन्दवासिनी हरिजनले गर्नुभएको थियो ।