• ७ मंसिर २०८१, शुक्रबार

मौद्रिक नीति : बैंकको ब्याजदर साढे आठ प्रतिशत पुग्यो

blog

काठमाडौं, साउन ६ गते। नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्‍याएको छ। 

शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताउनुभएको हो। 

राष्ट्र बैंकले सात प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्‍याएको हो। यो सँगै बैंकबीच एक आपसमा हुने कारोबारको दर बढ्नेछ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर चार प्रतिशत कायम गरेको छ। 

अब बैंकले निक्षेपको चार प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ। वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा समेत बढेको छ। 

राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो। 

नेपाल राष्ट्र बैंकले दुई थरी ब्याजदरको व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत् कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था भएको हो। 

बढ्दो आयातालाई निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकको आयात गर्दा नै ब्याजदर दुई थरी हुनेछ। एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च हुनेछ।  

पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तीमा दुई प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो।