पेरिस, चैत ४ गते । मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबिचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको छ ।
इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै इरान समर्थित हिजबुल्लाहविरुद्ध लक्षित आक्रमण हुने चेतावनी दिएको छ । यसअघि नै निकासी चेतावनीपछि मध्य बेरुतमा आक्रमण भएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिना चेतावनी भएका दुई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । इजरायलले आफ्नो भूमितर्फ भएका रकेट प्रहारको जवाफस्वरूप टायर आसपासका क्षेत्रमा हिजबुल्लाहका लक्ष्यमा निरन्तर आक्रमण गरिरहेको जनाएको छ ।
यता, इरानले युद्धको असर विश्वव्यापी हुने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विश्वव्यापी प्रतिक्रिया सुरु भइसकेको र यसले सबै वर्गलाई असर गर्ने बताउनुभएको छ । उहाँले उक्त अभिव्यक्तिसँगै अमेरिकी राष्ट्रिय आतङ्कवाद विरोधी केन्द्रका निर्देशक जोसेफ केन्टको राजीनामापत्रसमेत साझा गर्नुभएको छ । ट्रम्प प्रशासनद्वारा नियुक्त केन्टले इरानविरुद्धको युद्धलाई समर्थन गर्न नसक्ने भन्दै आफ्नो पद त्यागेको घोषणा गर्नुभएको हो ।
इरानी सैन्य नेतृत्वले पनि कडा प्रतिक्रिया जनाउँदै सुरक्षा प्रमुख अली लारिजानीको हत्याको ‘निर्णायक र खेदजनक बदला’ लिने चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्ड्सले मध्य इजरायलमा मिसाइल प्रहार गरेको दाबी गर्दै लारिजानीसहित मारिएकाहरूको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ । हमासले पनि इरानप्रति ऐक्यबद्धता जनाउँदै यो द्वन्द्वले सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थिरता जोखिममा पार्ने उल्लेख गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले लारिजानीको मृत्यु पुष्टि गरिसकेको छ ।
खाडी क्षेत्रमा पनि सुरक्षा चुनौती तीव्र बनेको छ । संयुक्त अरब इमिरेट्समा अस्ट्रेलियाली सैन्य मुख्यालय नजिक इरानी प्रक्षेप्य खसेको जानकारी सार्वजनिक भएको छ । साउदी अरेबियाले प्रिन्स सुल्तान एयर बेस नजिक ब्यालेस्टिक मिसाइल रोकेको जनाएको छ भने आठवटा ड्रोनसमेत निष्क्रिय पारेको छ । कुवेत र कतारले पनि रकेट तथा ड्रोन आक्रमणहरू विफल पारेका छन् ।
यसैबिच, अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य नजिक इरानी क्षेप्यास्त्र केन्द्रहरूमा शक्तिशाली ‘बङ्कर बस्टर’ बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ । यो क्षेत्र विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिन्छ, जसले द्वन्द्वको आर्थिक प्रभावलाई अझ गम्भीर बनाएको छ ।
इजरायलतर्फ पनि क्षति बढ्दो छ । तेल अभिव नजिक इरानबाट प्रहार गरिएको मिसाइल आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ, जससँगै यस प्रकारका आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । उता बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण हुँदा परिसरभित्र आगलागी भएको बताइएको छ ।
युद्धले अन्तर्राष्ट्रिय आयाम लिँदै जाँदा युक्रेनले पनि आफ्नो भूमिका देखाएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार इरानद्वारा डिजाइन गरिएका ड्रोनविरुद्ध सहयोग गर्न २०० भन्दा बढी युक्रेनी विशेषज्ञहरू मध्यपूर्वका विभिन्न देशमा परिचालन गरिएका छन् ।
इरानभित्र भने सरकारले राष्ट्रव्यापी र्याली आह्वान गरेपछि विभिन्न सहरहरूमा ठूलो भीड जम्मा भएको छ । फारसी नयाँ वर्ष ‘नौरोज’ को अवसरमा हुने यस्ता जमघटलाई सरकारले आन्तरिक एकता प्रदर्शनका रूपमा उपयोग गर्न खोजेको देखिन्छ ।
अन्तर्राष्ट्रिय राजनीतिक मतभेद पनि सतहमा आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा सहयोग नगरेको भन्दै नाटो र बेलायतको आलोचना गर्नुभएको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरप्रति निराशा व्यक्त गर्दै उहाँले सहयोगको आवश्यकता नरहेकोसमेत उल्लेख गर्नुभएको छ ।
यसबिच लेबनानमा मानवीय क्षति बढिरहेको छ । दक्षिणी क्षेत्रमा इजरायली आक्रमणमा तीन सैनिक मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि सुरु भएको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ९१२ पुगेको छ । यो अघिल्लो दिन ८८६ थियो । समग्रमा, घटनाक्रमहरूले युद्धको दायरा फराकिलो हुँदै गएको र यसको प्रभाव विश्वव्यापी बन्ने सङ्केत प्रष्ट रूपमा देखिएको छ । रासस/एएफपी