गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३ गते । काठमाडौँ महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरको भार कम गर्न तथा फोहोरबाट आम्दानीसमेत गर्ने उद्देश्यसहित ‘रिसाइकल’ हुने सुक्खा फोहोरको छुट्टै व्यवस्थापन सुरु गरेको छ । सो कार्यका लागि महानगरपालिकाले ठेक्कासमेत लगाइसकेको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले फोहोरबाट मोहर निकाल्ने, बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरको भार कम गर्ने, फोहोर ढुवानीको लागत घटाउने तथा फोहोर उत्सर्जनकर्तालाई फोहोर छुट्याउने बानीको विकास गर्नेलगायतका बहुउद्देश्यीय फाइदालाई दृष्टिगत गर्दै महानगरले सुक्खा फोहोरको छुट्टै व्यवस्थापन सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुक्खा फोहोर व्यवस्थापनको कार्य सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहोर व्यवस्थापन हुन थालेको छ । उहाँले भन्नुभयो, “यस कार्यका लागि महानगरले वार्षिक छ करोड आठ लाख ७२ हजार रुपियाँमा ठेक्का व्यवस्थापनसमेत गरिसकेको छ । महानगरका ३२ वटै वडालाई सात क्षेत्रमा वर्गीकरण गरी ठेक्का लगाइएको छ । सबै क्षेत्रमा फोहोरमैला स्थानान्तरण केन्द्र स्थापना गरिएको छ । अहिले महानगरका वडा नम्बर ७, १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा सुक्खा फोहोर व्यवस्थापन सुरु भइसकेको छ ।” फोहोरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न ठेक्का लगाइएको विभाग प्रमुख राईले बताउनुभयो ।
उहाँका अनुसार सुक्खा फोहोर छुट्याउने कम्पनीले जम्मा भएको फोहोरबाट फलामका टुक्रा, प्लास्टिक, बोतल, कागजलगायतका ‘रिसाइकल’ हुन सक्ने खालका सामान छुट्याउँछन् । यसरी छुट्याइएका सामान ठेक्का लिएका कम्पनीका लागि आम्दानीका स्रोत हुन् । यसरी फोहोर छुट्याउँदा फोहोरबाट आम्दानी हुने, बन्चरेडाँडा ल्यान्डफिल साइटमा भार कम हुने, फोहोर ढुवानीको लागत घट्नेलगायत प्रत्यक्ष फाइदा हुन्छ ।