गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३ गते । स्वास्थ्य बिमामा हुने दुरुपयोग रोक्न स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गरेको छ ।
बोर्डले स्वास्थ्य बिमा कार्यक्रमलाई डिजिटल प्रणालीसँग जोड्ने र विस्तार गर्ने योजना अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले अब स्वास्थ्य बिमा बोर्डमा हुने दुरुपयोग रोकिने जानकारी दिनुभयो ।
यसअघि एउटै व्यक्तिले दुई/तीन वटा बिमा कार्ड बनाएको रहेछ, कार्यकारी निर्देशक डा. पौडेलले भन्नुभयो, “अब बिमा बोर्डमा राष्ट्रिय परिचयपत्रको नम्बर राखेपछि त्यसो हुन पाउँदैन ।” उहाँले यसअघि एउटै व्यक्तिले अन्य व्यक्तिको बिमा कार्डको दुरुपयोग गर्ने र अरू कार्डबाट पनि उपचार गराउने गरेको स्मरण गर्दै राष्ट्रिय परिचयपत्र विभागसंगको सम्झौतापछि त्यस्ता धेरै दुरुपयोग हट्ने दाबी गर्नुभयो । बोर्डले अब स्वास्थ्य बिमाको दर्ता र नवीकरण गर्दा पनि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य राखिने जानकारी दिनुभयो । कार्यकारी निर्देशक डा. पौडेलले अब कार्ड बनाउँदा बायोमेट्रिक गरिने र डिजिटल प्रणालीसंगसमेत जोड्ने तयारी भइरहेको बताउनुभयो ।
बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गर्दै स्वास्थ्य बिमालाई राष्ट्रिय परिचयपत्र नम्बरमा आधारित बनाउने जानकारी दिँदै पौडेलले राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबिच समझदारीपत्रमा हस्ताक्षर गरिएको बताउनुभयो ।
उहाँले चैत २५ गतेभित्र नयाँ दर्ता अनलाइनमार्फत गर्ने लक्ष्य राखेर काम अघि बढेको जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले सझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।