• १२ साउन २०८१, शनिबार

स्वयंसेवक शिक्षक परिचालन गरिने

blog

ललितपुर, साउन ६ गते । ललितपुरको गोदावरी नगरपालिकाले स्नातक र स्नाकोत्तर तह पूरा गरेका शिक्षित बेरोजगार युवालाई नगरपालिकाका सामुदायिक विद्यालयमा निश्चित पारिश्रमिकसहित स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्ने भएको छ । 

यस वर्ष त्यस्ता ५० जनालाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गरिने भएको छ। नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाको समग्र शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षदेखि स्वयंसेवक शिक्षकको नीति ल्याएको बताउनुभयो । 

उहाँका अनुसार एक जना शिक्षकलाई मासिक १५ देखि २० हजार रुपियाँ उपलब्ध गराइनेछ । त्यस्ता शिक्षक छनोटका कार्य यसै महिनादेखि सुरु गरिनेछ । उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको स्वयंसेवक शिक्षकले नगरपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ ।” नगरपालिकाभित्र ४६ वटा विद्यालयमध्ये १७ वटा माध्यमिक तहका छन् । यस्ता शिक्षक तत्कालका लागि माध्यमिक विद्यालयमा मात्र परिचालन गरिनेछ ।  यस वर्षभित्रै नगर शिक्षा ऐन, नियमावली, कार्यविधि मापदण्ड तथा शिक्षासँग सम्बन्धित अन्य कानुन निर्माण गरी शैक्षिक क्षेत्रमा व्यापक सुधार गर्ने योजना नगरपालिकाले बनाएको छ । सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न उच्चस्तरीय अनुगमन समिति गठन गरी अनुगमन कार्यलाई प्राथमिकता दिने, नगरपालिकास्तरीय र सबै वडामा पुस्तकालय निर्माण गर्ने नीति नगरपालिकाले बनाएको छ ।