दमौली (तनहुँ), चैत १ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र हुँदा यस ठाउँका स्थानीयवासीले मत नै नहाल्ने चेतावनी दिएका थिए ।
घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटकपटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकाय घेराउसमेत गरेका थिए । सोहीबमोजिम हजारौँ जनता मतदानमै सहभागी नहुने चेतावनीपछि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारले पुल निर्माणस्थलमै पुगेर जसरी पनि पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सबै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने हस्ताक्षरसहितको प्रतिबद्धता व्यक्त गरेपछि स्थानीय मतदानमा सहभागी भए । निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ भने यस क्षेत्रबाट रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले विजयी हुनुभएको छ ।
अब बन्ने सरकारले घुमाउनेमा पुल निर्माणलाई सुरु गर्नेमा यहाँका स्थानीयवासी आशावादी छन् । चाँडै पुल निर्माणले गति लिनेमा आफूहरू आशावादी रहेको पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ सरकार गठन हुँदैछ । अब यो बेला पनि पुल बनेन भने अरु बेला बन्न सक्दैन । हामी पुल निर्माण हुनेमा आशावादी छौँ ।” घुमाउने पुल निर्माणका लागि सम्झौता भएको १२ वर्ष बितिसक्यो । सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्र ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो ।
बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ३६ प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल निर्माणका लागि २०८३ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीचको कम दूरीमा सजिलै आवतजावत गर्न सकिने तनहुँ जिल्ला सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास–१३ र १४, बन्दिपुर–६, आँबुखैरेनी–५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारायणगढ सडकमा जोड्ने घुमाउने घाटमा पुल निर्माण थालिएको थियो । तनहुँको कछार मानिने देवघाट गाउँपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का जनतासमेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडक खण्डभन्दा करिब २३ किमी कम दूरी पर्दछ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आवतजावत गर्न हाल सञ्चालन भइरहेको मुग्लिङ नारायणगढ सडकभन्दा २३ किलोमिटर छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता भएको बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो । रासस