• २७ फागुन २०८२, बुधबार

थला परे जुट उद्योग

blog

शशिधर पराजुली

विराटनगर, फागुन २७ गते । पूर्वी नेपालको औद्योगिक पहिचान बोकेको जुट उद्योग यतिबेला गम्भीर सङ्कटमा परेको छ । बङ्गलादेश र भारतबाट हुने कच्चा जुटको आयातमा उल्लेख्य गिरावट आएपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट मिलले आफ्नो उत्पादन क्षमतामा ६० प्रतिशतले कटौती गरेका छन् । उत्पादन घटेसँगै यस क्षेत्रमा कार्यरत झन्डै तीन हजार मजदुरले रोजगारी गुमाएका छन् ।

नेपाल जुट व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार गोल्छाका अनुसार कच्चा पदार्थको अभावमा उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यो अवस्था सिर्जना भएको हो । अहिले कोरिडोरमा चार वटा जुट उद्योग सञ्चालनमा छन्, जसको कुल उत्पादन क्षमता दैनिक २४० मेट्रिक टन हो । कच्चा पदार्थ नभएकै कारण हाल करिब एक सय टनको हाराहारीमा मात्रै उत्पादन भइरहेको छ ।

अध्यक्ष गोल्छा भन्नुहुन्छ, “हामीले अहिले ४० प्रतिशत मात्र उत्पादन गरिरहेका छौँ । बङ्गलादेशले सेप्टेम्बरदेखि जुट बिक्री घटाएको छ भने भारतले आफ्नै उद्योगलाई नपुगेर निर्यात रोकेको छ । थोरै थोरै कच्चा पदार्थ ल्याएर जेनतेन उद्योग टिकाइरहेका छौँ ।” उत्पादन कटौतीको प्रत्यक्ष मार श्रमिकमा परेको छ । यसअघि जुट उद्योगमा झन्डै १० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाउँदै आएकोमा अहिले तीन हजारभन्दा बढीको रोजगारी खोसिएको छ । कच्चा जुटको आपूर्तिमा सुधार नभए थप जनशक्ति कटौती गर्नुपर्ने बाध्यता रहेको उद्योगी बताउँछन् । उद्योगी रमेशकुमार राठीका अनुसार अहिले उद्योगसँग १० दिनदेखि बढीमा एक महिनालाई पुग्ने मात्रै कच्चा पदार्थ मौज्दात छ ।

भारत र बङ्गलादेशमा किन घट्यो उत्पादन ?

पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा नेपालले कच्चा पदार्थमा निर्भर रहनुपर्ने भारत र बङ्गलादेश दुवै देशमा उत्पादन घटेको देखिएको छ । मुख्य गरेर प्रतिकूल मौसमका कारण बङ्गलादेशमा जुटको उत्पादनमा झन्डै सात प्रतिशतले गिरावट आएका कारण त्यसको प्रत्यक्ष असर नेपाली जुट उद्योगमा पनि परेको हो । 

बङ्गलादेशको तथ्याङ्क अनुसार सन् २०२२/२३ मा १५.१४ लाख मेट्रिक टन जुट उत्पादन भएकामा सन् २०२४/२५ मा यो घटेर १४.४० लाख मेट्रिक टनमा खुम्चिएको छ । गत वर्षको अप्रिल/मे महिनाको अत्यधिक गर्मी र पछि जुलाईमा आएको बाढीले जुट उत्पादनमा ठुलो असर परेको हो । यसबाहेक किसान जुट छोडेर अन्य खेतीतर्फ आकर्षित भएपछि जुट खेती गर्ने क्षेत्रफल पनि घट्दै गएको बताइएको छ । 

त्यस्तै भारतमा पनि जुटको उत्पादन ओरालो लागेको छ । त्यहाँ सन् २०२१/२२ मा १८.३१ लाख मेट्रिक टन उत्पादन भएकामा सन् २०२४/२५ मा १५.३१ लाख मेट्रिक टन झरेको त्यहाँको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । भारतको पश्चिम बङ्गालमा मात्रै ८० प्रतिशत जुट उत्पादन हुने गर्छ । त्यहाँका किसानले जुट खेतीको साटो तोरी र मकै खेतीलाई प्राथमिकता दिँदा जुट उत्पादन घटेको हो । 

नेपालमा पनि जुट खेती निरन्तर घट्दै जाँदा उत्पादन निरन्तर ओरालो लागिरहेको छ । त्यसबाहेक जलवायु परिवर्तन तथा बाली विविधीकरणका कारण उत्पादन घट्दा जुटमा आधारित उद्योग धराशायी बन्दै गएका छन् । त्यसले रोजगारीको अवसरसमेत गुमाउनुपर्ने अवस्था सिर्जना गरिदिएको छ । 

हाल अधिकांश उद्योग तीन सिफ्टको सट्टा दुई सिफ्टमा चलाउन थालिएको छ भने केहीले उत्पादन प्लान्टका आधार मेसिन मात्र चलाएर व्यवस्थापन मिलाइरहेका छन् । 

कच्चा पदार्थको सहज आपूर्तिका लागि सरकारले पछिल्लो समय कूटनीतिक पहलसमेत नगरेका कारण उद्योगी अन्योलमा छन् ।