• २५ फागुन २०८२, सोमबार

युवाको काँधमा देशको अभिभारा

blog

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । 

सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः ।

नेपाली समाजको स्थापनाकालदेखिको मूल्यमान्यता, आदर्श, परम्परा र चाहना प्रतिविम्बित यही संस्कृत श्लोकले हामीलाई सत्मार्गमा लाग्न प्रेरित गर्दै आएको छ । यही मान्यतालाई हाम्रा पूर्वजले आत्मसात् गर्दै कहिल्यै कसैको पराधीन नभई स्वतन्त्र र स्वाभिमान राष्ट्रनिर्माण गरी हामीलाई सुम्पिएको यथार्थलाई बिर्सिनु हुँदैन । अब मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने जिम्मेवारी नेपाली युवाको काँधमा आएको छ । गत भदौमा भएको नवयुवा (जेनजी) पुस्ताले गरेको विद्रोहलाई आमनेपाली जनताले सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमार्फत अनुमोदन गरेको छन् । युवापुस्ताले बनाएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुलुकको सबैभन्दा ठुलो र शक्तिशाली पार्टीका रूपमा स्थापित भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), मधेशकेन्द्रित दललगायत यस पटकको निर्वाचनमा पराजित भएका छन् । 

पुराना स्थापित दलहरूको नेतृत्वबाट जनता दिक्क र वाक्क भएर रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई मुलुक चलाउने जिम्मेवारी सुम्पेका हुन् । एकाएक चुनाव जितेर देशको सङ्घीय राजधानी सहर काठमाडौँ महानगरपालिकाको प्रमुख बनेर बालेन चर्चामा आउनुभयो । उहाँले महानगरपालिकालाई तीन वर्षको अवधिमा राम्रा काम गरी सबैको मन जित्न सफल हुनुभयो । युवापुस्ताको ढुकढुकी बन्नुभयो । अब महानगरमा मात्र होइन, प्रधानमन्त्री बनेर मुलुककै नेतृत्व गर्नु पर्छ भन्ने आवाज उठ्यो । उहाँले महानगरपालिकाबाट राजीनामा दिएर रास्वपाको वरिष्ठ नेता बन्नुभयो । रास्वपाले उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरी चुनावमा होमियो । उहाँले तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग चुनावमा प्रतिस्पर्धा गर्ने साहसिक निर्णय लिनुभयो । ओलीको बलियो पकड मानिएको झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ३६ वर्षीय युवा बालेनले उहाँसँग प्रतिस्पर्धा गर्ने विषय सर्वाधिक चर्चा बन्यो । चुनाव प्रचारप्रसारको अभियानमा बालेन जहाँ जहाँ पुग्नुभयो, त्यहाँ त्यहाँ अपार जनलहर उर्लियो । उहाँलाई भावी प्रधानमन्त्री बनाउनु पर्छ भन्ने विषयमा आममतदातामा विमति रहेन । फलस्वरूप सम्पन्न आमनिर्वाचनमा एमाले अध्यक्ष ओलीलाई पराजित गर्दै बालेन सांसद निर्वाचित हुनुभयो । उहाँकै लोकप्रियताले रास्वपाले करिब दुई तिहाइ बहुमत ल्याउने चरणमा पुगेको छ । अब यो अपार जनसमर्थनलाई सदुपयोग गरी मुलुकको नेतृत्व गर्न बालेनलाई मार्गप्रशस्त भएको छ ।

निर्वाचन आयोगले मतगणना सकिएलगत्तै अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने छ अनि नयाँ सरकार गठन प्रक्रिया सुरु हुने छ । अब रास्वपाको एकल सरकार बन्ने छ । नयाँ बन्ने सरकारले सबैको मन जितेर, सबै पक्षलाई विश्वासमा लिएर मुलुक र मुलुकवासीको समग्र हितमा काम गर्नु पर्छ । सबैको आत्मसम्मान र इज्जत जोगिनु पर्छ । अनाहकमा कसैलाई दुःख दिनु हुँदैन । हामी कसैको पनि गोटी बन्नु हुन्न । हामीले छिमेकी दुई ठुला उदीयमान शक्ति भारत र चीनसित सन्तुलित र पारदर्शी सम्बन्ध राख्दै मुलुकको सर्वोपरि हित प्रवर्धनलाई जोड दिनु पर्छ । दुई छिमेकीलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने हो भने नेपाललाई विकसित र समृद्ध बनाउन धेरै समय लाग्ने छैन । हाम्रा मित्र राष्ट्रहरू, दातृ निकाय र विदेशी लगानीकर्ता नेपालप्रति नकारात्मक छैनन् । भ्रष्टाचारमुक्त सुशासनसहितको शान्तिपूर्ण वातावरण बनाएर लगानी सुरक्षाको ग्यारेन्टी गर्ने हो भने विदेशी लगानीको प्रचुर सम्भावना छ । विदेशी लगानी आकर्षित गरी युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सके नेपाललाई छोटो समयमै रूपान्तरण गर्न सकिने छ । 

युवा शक्तिबिना देश बन्दैन । स्वदेशमा काम गर्ने अवसर नपाएर ६० लाखभन्दा बढी युवाशक्ति मुलुकबाहिर छन् । युवा साथै प्रतिभा दुवै पलायन भएको छ । युवाशक्ति नभएर गाउँघर रित्तिँदै छन् । सामाजिक संरचना खलबलिएको छ । गाउँघरमा बुढाबुढी र केटाकेटीको स्यहारसुसार गर्ने युवाशक्ति छैन । लाजमर्दो कुरा त अहिलेसम्म मुलुक गरिब राष्ट्रका सूचीबाट माथि उठ्न सकेको छैन । आमनागरिकले चाहे जस्तो सुशासन दिन सकिएको छैन । सर्वत्र भ्रष्टाचारी र बिचौलियाको रजगज नै छ । विगतमा विभिन्न कालखण्डमा भएका राम्रा काम पनि ओझेलमा परेका छन् । पुराना जति सबै खराब र नालायक हुन् भन्ने भाष्य बनेको छ, यसलाई रोक्नु पर्छ । अब पुराना दल र तिनको नेतृत्व समय अनुसार सुधारिनु पर्छ । हाम्रा मौलिक मूल्यमान्यता र आदर्श जोगाउँदै अब बन्ने नयाँ सरकारले चुनावमा गरिएका प्रतिबद्धता अनुसार सत्कर्म गर्नुपर्ने छ । भाषणले देश बन्दैन, भोको पेट भरिँदैन । असल कर्म गर्दै मिलेर देशलाई शान्त र समृद्ध बनाऔँ ।