• २५ फागुन २०८२, सोमबार

महिला नेतृत्वको उत्कृष्टता

blog

नेपालको सामाजिक तथा राजनीतिक इतिहासमा महिलाको भूमिका प्रायः ‘समर्थन गर्ने शक्ति’ का रूपमा व्याख्या हुँदै आएको छ । परिवारको व्यवस्थापन, संस्कारको संरक्षण र समाजको आधार निर्माणमा महिलाले खेलेको भूमिका सधैँ महत्वपूर्ण रहँदै आएको छ । घरको शान्ति, अनुशासन र व्यवस्थापनमा महिलाको योगदानलाई समाजले स्वीकार त गरेको छ तर राज्य सञ्चालनको नेतृत्व तहमा पुग्ने अवसर भने लामो समयसम्म सीमित रह्यो । यही कारणले आज पनि एउटा महत्वपूर्ण प्रश्न बारम्बार उठिरहन्छ– यदि महिलालाई समान अवसर दिइयो भने के उनीहरूले राष्ट्रलाई प्रभावकारी रूपमा नेतृत्व गर्न सक्छन् ?

यो प्रश्न अब केवल सैद्धान्तिक बहसको विषय मात्र रहेन । समयले यसको उत्तर व्यवहारमै दिन थालेको छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वले यही सन्देशलाई थप सशक्त बनाएको देखिन्छ । उहाँले नेतृत्व समालेपछि प्रशासनिक अनुशासनमा आएको सुधार, निर्णय प्रक्रियामा देखिएको स्पष्टता र राजनीतिक वातावरणमा देखिएको स्थिरताले नेतृत्वको वास्तविक आधार क्षमता, दृष्टि र इमानदारी हो भन्ने कुरा प्रस्ट पारेको छ ।

विशेष गरी तय गरिएको मितिमै निर्वाचन सम्पन्न गराउन सक्नु उल्लेखनीय उपलब्धि हो । नेपाल जस्तो राजनीतिक रूपमा संवेदनशील, विविध विचार र जटिल सामाजिक संरचना भएको मुलुकमा चुनावलाई निर्धारित समयमै सम्पन्न गराउनु सधैँ चुनौतीपूर्ण मानिन्छ । कहिलेकाहीँ निर्वाचन स्थगित हुने, विवाद उत्पन्न हुने वा विभिन्न अवरोध देखापर्ने सम्भावना विगतका अनुभव छन् तर यस पटक चुनाव तय गरिएको मितिमै शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुनु लोकतान्त्रिक अभ्यासका लागि ठुलो सफलता हो ।

यो सफलता केवल प्रशासनिक उपलब्धि मात्र होइन, यो लोकतन्त्रप्रतिको विश्वासको पुनस्र्थापना पनि हो । जब नागरिकले देख्छन् कि राज्यका महत्वपूर्ण प्रक्रिया समयमै, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेका छन्, तब लोकतान्त्रिक प्रणालीप्रतिको भरोसा अझ बलियो बन्छ । प्रधानमन्त्री कार्कीको नेतृत्वले यही भरोसालाई सुदृढ बनाउने काम गरेको देखिन्छ । यस घटनाले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ– महिलालाई अवसर दिइयो भने उनीहरूले घर मात्र होइन, राष्ट्रलाई पनि व्यवस्थित रूपमा सञ्चालन गर्न सक्छन् । बर्सौंदेखि समाजमा जरा गाडेको एउटा सोच थियो कि महिला अत्यधिक संवेदनशील हुन्छन्, भावनात्मक हुन्छन् । यही कारण महिलालाई ठुला राजनीतिक जिम्मेवारी समाल्न कठिन हुन्छ तर समयले बारम्बार देखाइरहेको छ कि संवेदनशीलता कमजोरी होइन, बरु जिम्मेवारी र मानवीय नेतृत्वको महत्वपूर्ण गुण हो । फागुन २४ गते मनाइएको अन्तर्राष्ट्रिय महिला दिवसले पनि यही सन्देशलाई अझ सशक्त बनाउने अवसर प्रदान ग¥यो । सन् २०२६ को अन्तर्राष्ट्रिय महिला दिवसको नाराले ‘समान अवसर, समान सहभागिता र समान सम्मानको’ आवश्यकता पुनः स्मरण गराउँछ । यो केवल उत्सव मनाउने दिन मात्र होइन, समाजले आफ्नो सोच, व्यवहार र संरचनालाई पुनर्विचार गर्ने अवसर पनि रहेको थियो ।

नेपालका गाउँदेखि सहरसम्म हजारौँ महिला छन्, जसले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र सामाजिक सेवामा महìवपूर्ण योगदान दिइरहेका छन् । कतिपय महिलाले सीमित स्रोत र कठिन परिस्थिति झेलेरै उल्लेखनीय काम गरेका उदाहरण प्रशस्त छन् तर आज पनि निर्णय प्रक्रियामा उनीहरूको सहभागिता अपेक्षाकृत कम छ । नीतिनिर्माणको तहमा महिलाको उपस्थिति अझै सन्तोषजनक हुन सकेको छैन । यस्तो अवस्थामा महिला नेतृत्वका सफल उदाहरणले ठुलो प्रेरणा प्रदान गर्छ । समाजमा एउटा सकारात्मक सन्देश दिन्छ– अवसर पायो भने महिला पनि नेतृत्वमा उत्तिकै सक्षम हुन सक्छन् । यसले आगामी पुस्ताका बालिका र युवतीलाई पनि नयाँ सपना देख्न र ठुलो जिम्मेवारी समाल्न आत्मविश्वास दिन्छ ।

वास्तवमा महिलाले घरभित्र देखाएको व्यवस्थापन क्षमता आफैँमा एउटा उत्कृष्ट नेतृत्व अभ्यास हो । सीमित स्रोतबिच परिवारलाई व्यवस्थित राख्ने, विभिन्न जिम्मेवारीलाई सन्तुलित रूपमा पूरा गर्ने र कठिन परिस्थितिमा पनि धैर्य कायम राख्ने क्षमता कुनै सानो कुरा होइन । यही अनुभव र क्षमता जब सार्वजनिक जीवनमा प्रयोग गर्ने अवसर आउँछ, तब त्यसले समाज र राष्ट्रलाई सकारात्मक दिशामा अघि बढाउन ठुलो योगदान दिन सक्छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वले दिएको सन्देश यही हो– सम्भावनालाई अवसरमा रूपान्तरण गरियो भने परिणाम उत्कृष्ट हुन्छ । उहाँले देखाएको दृढता, पारदर्शिता र जिम्मेवारीले महिला नेतृत्वप्रति समाजमा रहेको विश्वासलाई अझ बलियो बनाएको छ । महिलालाई केवल सम्मान व्यक्त गरेर मात्र सन्तुष्ट हुनु हुँदैन । वास्तविक सम्मान तब हुन्छ, जब महिलालाई निर्णय प्रक्रियामा समान स्थान दिइन्छ, नेतृत्वका अवसर प्रदान गरिन्छ र उनीहरूको क्षमतामा विश्वास गरिन्छ । किनकि जब महिलालाई अवसर दिइन्छ, उनीहरूले केवल आफ्नो क्षमता प्रमाणित मात्र गर्दैनन, समाजलाई अझ व्यवस्थित, संवेदनशील र समावेशी बनाउने शक्ति पनि देखाउँछन् । घर समाल्ने हातहरूले देश समाल्न पनि सक्छन् भन्ने सत्य आज क्रमशः स्पष्ट हुँदै गएको छ । यही सत्यलाई स्वीकार गर्दै अघि बढ्नु नै समतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माणको आधार बन्न सक्छ ।