• ३० फागुन २०८२, शनिबार

व्यवसायीदेखि सांसद बने ३३ वर्षीय झविलाल डुम्रे

blog

स्याङ्जा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको लागि निर्वाचित रास्वपाका झविलाल डुम्रेलाई प्रमाणपत्र वितरण गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २५ गते ।
व्यवसायसँगै आइटीमा राम्रो दख्खल राख्ने वालिङ नगरपालिका–१४ छोरेखर्कका  झबिलाल डुम्रे संसदको यात्रा तय गर्नुभएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डुम्रे फारकिलो मतान्तरसहित विजयी हुनुभएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका भागवत प्रकाश मल्ललाई चार हजार ५२४ मतान्तरले पराजित गर्नुभएको छ ।

निर्वाचन अधिकृत ऋषि पौडेलका अनुसार डुम्रेका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १२ जना उम्मेदवार रहेकामा सबैलाई पछाडि पार्दै डुम्रेले नतिजा आफ्नो पक्षमा पार्नुभएको हो ।

यो क्षेत्रमा सुरुवाती अग्रता लिएको नेकपा (एमाले) भने निक्कै पछाडि रहेको छ । एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याउनुभएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका पदमबहादुर बिकले ८४८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन पाठकले ५६६ मत प्राप्त गर्नु भएको छ ।

यहाँ ६४ हजार ९२८ मत खसेकोमा दुई हजार ६६२ मत बदर भएको थियो । एक लाख १७ हजार ९३० मतदाता रहेको यो क्षेत्रमा दुई स्वतन्त्र सहित १० दलका १२ जना उमेदवार प्रतिस्पर्धामा रहेका थिए ।

यस क्षेत्रमा कालीगण्डकी गाउँपालिका र चापाकोट नगरपालिका तथा र भिरकोट (५–९) एवं वालिङ नगरपालिकाका ३ र ४ वडा बाहेकका १२ वडाका मतदाताले मतदान गरेका थिए ।

डुम्रे राजनीति क्षेत्रमा अपेक्षाकृत नयाँ भए पनि संगठन र समाजमा सक्रिय नाम हो । रास्वपाको स्थापना देखि नै संगठन निर्माणमा सक्रिय भएका कारण युवापुस्तामा उहाँ लोकप्रिय हुनुहुन्छ ।

२०४९ साल साउन ५ गते स्याङ्जाको वालिङ नगरपालिका–१४, छोरेखर्कमा जन्मिनु भएको हो । स्नातकोत्तरसम्म अध्ययन गर्नु भएका डुम्रे पेशागत रूपमा पोखरालाई कर्मथलो बनाएर केही बर्ष देखि व्यवसायका साथै समाजिक कार्यमा समेत सक्रिय रहँदै आउनु भएको छ ।