• ३० फागुन २०८२, शनिबार

समाजलाई प्रश्न गर्ने ‘प्रीमा फसी’

मानसिकता बदलेपछि मात्र न्यायपूर्ण समाज बन्छ : महान्यायाधिवक्ता

blog

महान्यायाधिवक्ता सविता भण्डारी

काठमाडौँ, फागुन २४ गते । लेखक सुजी मिलरद्वारा लिखित नाटक ‘प्रीमा फसी’को एउटा चर्चित भनाइ छ, “आफूलाई जे लाग्छ, त्यो सत्य नहुन पनि सक्छ।” व्यावसायिक मर्यादा, जटिल प्रश्नमाथि खुला बहस र संवाद, बाहिर भनिएको र भित्री सत्यलाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘प्रीमा फसी’मा जीवनका अनेक आयाम प्रस्तुत गरिएको छ।

कौशी थिएटरमा मञ्चन भइरहेको यस नाटकले सामाजिक जागरणका पक्षमा महत्त्वपूर्ण प्रश्न उठाएको छ। कानुनकर्मीको व्यावसायिक चरित्र, आफूमाथि भएको अन्याय र त्यसपछिको सङ्घर्षलाई नाटकमा मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ। निर्देशक आकाङ्क्षा कार्कीको निर्देशन, कलाकार पशुपति राईको प्रस्तुति र दुर्गा कार्कीको अनुवादमा मञ्चित नाटकका दृश्य निकै प्रभावशाली छन्।

यसैबीच, महान्यायाधिवक्ता सविता भण्डारीले कौशी थिएटर पुगेर ‘प्रीमा फसी’ अवलोकन गर्नुभएको छ। उहाँले समसामयिक विषयमा नाटक बनेको र अपराध अनुसन्धानका विविध पक्ष, पुरुष मानसिकता, महिलामाथि हुने विभेद र सामाजिक दृष्टिकोणको सन्दर्भमा नाटक केन्द्रित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नाटकमार्फत अदालत, सरकारी वकिल, प्रहरीको अनुसन्धान र हाम्रो सामाजिक मनोविज्ञानमाथि गम्भीर प्रश्न उठाइएको छ। ती प्रश्नका जवाफ कसरी र कहिले पाउने भन्ने बहसको विषय हो।”

महान्यायाधिवक्ता भण्डारीले नेपालका विभिन्न जिल्ला पुग्दा सामाजिक विभेद र हिंसा भोगेका अनेकौँ घटना देखेको उल्लेख गर्दै मानसिकता बदलेपछि मात्रै न्यायपूर्ण समाज निर्माण हुने बताउनुभयो। उहाँले थप्नुभयो, “धेरै काम गर्न बाँकी छ। समाज रूपान्तरणको नयाँ अध्याय आरम्भ हुँदै छ। विस्तारै न्याय र समानतायुक्त समाज बन्छ, बन्नुपर्छ।”

कलाकार पशुपति राईले विभेदका अनेक घटना र मानसिकता परिवर्तनका पक्षमा जागरण ल्याउने तथा नवीन सामाजिक परिवेश निर्माणका लागि विमर्श सुरु गर्न नाटकले अभिप्रेरित गर्ने बताउनुभयो।