बाबुराम शर्मा
दोलखा, फागुन २४ गते । दोलखामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता रहेको छ। हालसम्मको नतिजाअनुसार १० हजार ५६४ मतसहित रास्वपाले अग्रता बनाएको हो।
समानुपातिकतर्फ नै हालसम्मको परिणामअनुसार सूर्य चिह्न (नेकपा एमाले) दोस्रो स्थानमा देखिएको छ। सो पार्टीले छ हजार ३६ मत प्राप्त गरेको छ। यस्तै चार हजार २८९ मतसहित तारा चिह्न (नेपाल कम्युनिस्ट पार्टी) तेस्रो स्थानमा छ भने नेपाली कांग्रेस चौथो स्थानमा रहेको छ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय परिवर्तन पार्टीले ८७६, श्रम संस्कृति पार्टीले ३९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २७७ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ बजेसम्म २७ हजार ७७६ मत गणना भइसकेको छ। गणना भएको उक्त मतमध्ये २६ हजार ७५२ मत सदर हुँदा एक हजार २४ मत बदर भएको छ। जिल्लामा समानुपातिकतर्फ करिब ८४ हजार मत खसेको अनुमान गरिएको छ।