प्रवीण कुमार शर्मा
रौतहट, फागुन २४ गते । गौरमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । गौर नगरपालिकाको आयोजनामा आइतवार यहाँ एक सय १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस दिवस मनाइएको हो ।
सन् १९१० मार्च ८ मा विश्वका केही प्रबुद्ध महिलाले आफ्नो हक अधिकारका लागि सङ्गठित भएर आन्दोलन सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष मार्च ८ लाई विश्वभर नारी दिवसका रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा ‘सवै महिला र बालिकाको लागि अधिकार न्याय र कार्य सहितको अवसर’, ‘भन्ने नाराका साथ गौर नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख, नगर उप प्रमुख, नगर कर्मचारी, वडाका कर्मचारी, शिक्षिकाहरु, बालबालिका तथा स्थानीय महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा गौर नगर क्षेत्रका बिभिन्न विद्यालयबाट आएका बालबालिकाले महिला दिवसको अवसरमा आ आफ्नो प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले महिलाको हक अधिकार तथा सुरक्षा प्रत्याभूतिका लागि आवाज उठाउनुभएको थियो । महिला हिंसाले सुरक्षा चुनौती थपिएको बताउनुहुँदै उहाँले महिला विरुद्ध हुने हिंसा नियन्त्रण नभएसम्म समाजले अग्रगति लिन नसक्ने बताउनुभयो ।
महिलामाथि हुने हिंसा समुन्नत समाजका लागि वाधक भएकोले यसको अन्त्य गर्नसके महिलालाई समान अवसर र अधिकार पाउनमा दुई मत नरहने उहाँले बताउनुभयाे ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै जुद्ध माध्यमिक विद्यालयका शिक्षिका पल्लवी कुमारीले महिलाको प्रत्येक क्षेत्रमा समान सहभागिता आवश्यक रहेको जिकिर गर्नुभयो । नगरपालिकाकी महिला विकाश निरीक्षक सलोनी केशरीले नारा मात्रैले महिला सशक्त नहुने भएकोले परिवर्तनका लागि साहसपूर्वक प्रस्तुत हुन जरुरी रहेको धारणा राख्नुभयो ।