• ३० फागुन २०८२, शनिबार

ताप्लेजुङमा नौ उम्मेदवारको जमानत जफत

blog

ताप्लेजुङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक 

ताप्लेजुङ, फागुन २४ गते । ताप्लेजुङमा प्रतिनिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका नौ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यको एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिस्पर्धा गरेका १३ उम्मेदवारमध्ये नौ जनाको जमानत जफत भएको हो ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वीरेन्द्र श्रेष्ठको जमानत जफत भएको छ । श्रेष्ठले चार हजार १५५ मत अर्थात ९.६८ प्रतिशत मत ल्याउनुभएको छ । उहाँको जमानत जोगिनका लागि ०.३२ प्रतिशत अपुग देखिएको छ ।

यस्तै जमानत जफत हुनेमा उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन (२३२ मत), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ (२२१ मत) रहनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा (१८५ मत), नेकपा (माओवादी) का नरपति पौडेल (१५५) र जनता समाजवादी पार्टीका अरुन सुब्बा लेछर्बोको (१४१ मत) जमानत जफत भएको छ ।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ (५५ मत), मंगोल नेसनल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू (५०) र नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बूको ४६ मत मात्र आएकाले उहाँहरुको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत ल्याउनुपर्ने व्यवस्थाअनुसार उहाँहरुको मत सङ्ख्या नपुगेकाले जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस विकास श्रेष्ठले जानकारी दिनुभयो ।

ताप्लेजुङमा १३ हजार ९६२ मत प्राप्त गरी निर्वाचित क्षितिज थेबे, निकटतम् प्रतिद्वन्द्वी अर्थात दोस्रो मत ११ हजार ७११ मत प्राप्त गर्नुहुने नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङको जमानत जोगिएको छ । त्यस्तै तेस्रो छ हजार ७७५ मत पाउनुहुने नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री (पराग) र चौथो पाँच हजार २०९ मत प्राप्त प्राप्त गर्ने श्रम संस्कृति पार्टीका सन्तोष राईको जमानत जोगिएको छ ।

ताप्लेजुङमा प्रत्यक्षतर्फ कुल ४५ हजार ५८३ मत खसेको थियो । खसेको कुल मतमध्ये ४२ हजार ८९७ मत सदर हुँदा दुई हजार ६८६ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।