• ३० फागुन २०८२, शनिबार

निर्वाचन पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक

blog

पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रम ।

काठमाडौँ, फागुन २५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न भए पनि लैङ्गिक, अपाङ्गता तथा समावेशी मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको एक छलफल कार्यक्रममा बताइयो ।

 महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) को नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा भनियो, ‘निर्वाचन आयोगले तयार पारेको निर्देशिकानुसार काम भएको थिएन र मतदान केन्द्रका बारेमा विश्लेषण हुन जरुरी छ ।’

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को लैङ्गिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा सञ्चारकर्मीहरूसँगको छलफल कार्यक्रममा एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले प्रतिवेदनबारे प्रस्तुति दिनुभएको थियो । 

 उहाँले भन्नुभयो, ‘मतदान हुनु अघिको मतदान स्थल, मतदानको समय र मतगणनाको अवस्थालाई जे–सी विधिबाट पर्यवेक्षण गरी प्रतिवेदन तयार गरिएको हो ।यसमा एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाको सहकार्य रहेको छ ।’

सात प्रदेशका २४ जिल्लामा रहेको १६० बुथको प्रत्यक्ष अवलोकन गरेर प्रतिवेदन तयार पारिएको पाठकले जानकारी दिनुभयो ।  पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट ढिलो स्वीकृत पाएकाले पर्याप्त तयारी गर्न समय अभाव रहेको उहाँले बताउनुभयो ।  यद्यपि सातै प्रदेशका मतदान केन्द्रहरूमा १६० जना पर्यवेक्षकलाई प्रशिक्षण दिएर पर्यवेक्षणमा पठाइएको कार्यक्रममा बताइयो ।

निर्वाचन आयोगले तयार पारेको निर्देशिकानुसार मतदान केन्द्र तयार नभएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘न्यूनतम मापदण्ड पूरा भएका मतदानस्थल भेटिएनन् । मतदान केन्द्र नै पर्याप्त सूचनाबाट बञ्चित रहेकाले आउँदा दिनमा मतदान केन्द्रका बारेमा विश्लेषण हुन जरुरी छ ।’

अधिकांश मतदान केन्द्रमा महिला र पुरुषको लाइन बेग्लाबेग्लै भए पनि अन्यलाई बेवास्ता गरिएको, प्राथमिक उपचारको व्यवस्था नभएको, पिउने पानी, स्तनपान कक्ष, आराम कक्ष नभएको, मतदान स्थल अपाङ्गतामैत्री नभएको र मतदानपछि फर्किने बाटो वृद्धा र अशक्तका लागि ध्यान नपुर्‍याइएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । 

 कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले पर्यवेक्षणका क्रममा प्राप्त अनुभव साट्नु भएको थियो ।उहाँले मतदान स्थल महिलामैत्री भएको तर मतदानपश्चात् निस्कने बाटोका बारेमा ध्यान नपुर्‍याएको अनुभव सुनाउनुभयो । 

पर्यवेक्षणमा सहकार्य गरेको टेवा संस्थाले छ जिल्लाको विभिन्न १२ वटा बुथमा पुगेर पर्यवेक्षण गरेको थियो । मतदान गर्ने बनाइएको लाइन अव्यवस्थित, निर्वाचन महिला प्रहरीमाथि फरक व्यवहार भएको र मतदान अधिकृतको रुखो व्यवहार पर्यवेक्षणको क्रममा प्राप्त भएको संस्थाकी ज्योति रानाले बताउनुभयो । 

यसैगरी शान्तिका लागि अभियान संस्थाकी विन्द्रा महर्जनले नेपाली भन्दा विदेशी पर्यवेक्षकलाई मात्र महत्व दिएको बताउनुभयो ।यसैगरी महिला अपांग संघकी अध्यक्ष सुस्मिता श्रेष्ठले मतदान केन्द्र अपाङ्गमैत्री नभएको उल्लेख गर्नुभयो ।  

कार्यक्रममा पर्यवेक्षणको क्रममा खिचिएका तस्बिरहरु प्रदर्शनीमा राखिएको थियो । जसमा मतदान केन्द्र निर्माण, मतदान भइरहेको अवस्था र मतगणनाको अवस्था देखाइएको थियो ।