शेरबहादुर राई
ओखलढुङ्गा, फागुन २४ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले नागरिकसँग गरेको वाचा इमान्दारीपूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
निर्वाचनमा विजयी भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणपत्र लिने क्रममा पोखरेलले आफूले भोट माग्ने क्रममा गाउँगाउँका नागरिकसँग गरेका वाचा पूरा गर्ने बताउनुभयो । “भोट माग्ने क्रममा गाउँगाउँका नागरिकसँग आवश्यकताहरू पूरा गर्ने वाचा गरेको छु,” उहाँले भन्नुभयो, “त्यो वाचा इमान्दारीताका साथ पूरा गर्नेछु ।”
उहाँले ओखलढुङ्गामा विभिन्न प्रकारका समस्या रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा नेपाल प्रहरीका पूर्व एआईजी पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतको झिनो अन्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।
अन्तिम मतपरिणाम अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गर्नुभएको छ ।
गुरुङले एमालेबाट विद्रोह गर्दै नेकपाबाट उम्मेदवारी दिनुभएको थियो भने थापाले लिखु गाउँपालिकाको उपाध्यक्ष पद त्यागेर चुनाव लड्नुभएको थियो । यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार डा. उद्धव राईले ३ हजार ८५८ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा प्रतिस्पर्धा गरेका १५ उम्मेदवारमध्ये ५ जनाबाहेक अन्य उम्मेदवारले हजार मतसमेत कटाउन सकेनन् ।
जिल्लामा रहेका १ लाख २२ हजार ७१५ मतदातामध्ये फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५९ हजार ७९ मत खसेको थियो । तीमध्ये ५५ हजार ५३५ मत सदर र ३ हजार ३५६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि २०६४ सालमा तत्कालीन माओवादी र २०७० यता नेपाली कांग्रेस तथा एमालेले पालैपालो जित्दै आएको ओखलढुङ्गामा यस पटक भने राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकाल्न सफल भएको छ ।
देशभर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको लहर, कांग्रेसभित्र नयाँ उम्मेदवारलाई टिकट दिइनु र कम्युनिष्ट पार्टीभित्र देखिएको विद्रोहका कारण पनि परम्परागत दलको गढ मानिएको जिल्लामा नयाँ दललाई जित निकाल्न सहज भएको विश्लेषण गरिएको छ ।