गोकर्ण दयाल
बैतडी, फागुन २४ गते । मतदाता शिक्षाको कमीले गर्दा बैतडीमा प्रत्यक्ष निर्वाचनमा ७.०१ प्रतिश मत बदर भएको छ । एउटै मत पत्रमा दुईवटा राजनीतिक दलको चुनाव चिह्नमा छाप लगाउँदा पाँच हजार ११३ मत बदर भएका हुन् ।
यो पटकको निर्वाचनमा जिल्लाका कुल एक लाख ५६ हजार ३७२ मतदातामध्ये ७२ हजार ८४३ (४६.७८ प्रतिशत) मत खसेको थियो । आइतबार मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम चुनावी परिणाम अनुसार खसेको कुल मत मध्ये पाँच हजार ११३ मत बदर भएको उल्लेख छ ।
बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत ल्याएर उपविजेता बन्नुभएको छ । बदर भएका अधिकांश मतपत्र घन्टी र रुख चिह्न भएका छन् ।
मतदाता शिक्षाको कमीले धेरै मत बदर भएको नेपाली कांग्रेसका तर्फबाट मतगणना स्थलमा प्रतिनिधिका रूपमा खटिनु भएको सानु भण्डारीले गुनासो राख्नुभयो । राजनीतिक दलले पनि मतदाता शिक्षामा ध्यन नपुर्याएको उहाँले बताउनुभयो ।
गएको २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा १.२१ प्रतिशत (९५४ मत) बदर भएको थियो । २०७९ को निर्वाचनमा जिल्लामा कुल मतदाता सङ्ख्या एक लाख ५० हजार १५६ मध्ये कुल ७८ हजार ४१६ मत खसेको थियो ।
विगतको तुलनामा यो पटकको निर्वाचनमा बढी मत बदर भएको जिल्ला निर्वाचन बैतडी कार्यालयका सूचना अधिकारी नरेश दयालले बताउनुभयो । गाउँघरमा मतदाता स्वयं शिक्षक खटिएका भए पनि छोटो समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने पावन्दीका बिच मतदाता शिक्षा सञ्चालन भएको उहाँको भनाइ छ ।
यो पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा रास्वपा, एमाले र कांग्रेसबिच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी, नेकपा (एमाले) का दामोदर भण्डारी र नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दबिच मुख्य प्रतिस्पर्धा देखियो ।
रास्वपाका भण्डारीले २२ हजार १३४ पाएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दलाई पछि पार्दै जित हासिल गर्नुभयो । नेपाली कांग्रेसका उम्मेदवार चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले छ हजार ९६५ मत प्राप्त गरेर चौथो स्थान हासिल गर्नुभयो ।