प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २५ गते । सल्यानमा समानुपातिक मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सल्यान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा देखिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २५ हजार ६६५ मत प्राप्त गरि पहिलो भएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीका अनुसार नेपाल कम्युनिष्ट पार्टीले २० हजार ३३९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेपाली काँग्रेसले १६ हजार ६९ मत प्राप्त गरेको छ। नेकपा (एमाले) ले १४ हजार ९२ मत प्राप्त गरेका छन् ।
यस्तै अन्य दलहरूमध्ये नेपाल मजदुर किसान पार्टीले ४० मत, राष्ट्रिय जनमोर्चाले ६९ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीले ८९ मत, नेपाल लोकतान्त्रिक पार्टीले २३ मत, मंगोल नेशनल अर्गनाइजेशनले २८ मत, बहुजन शक्ति पार्टीले १६ मत र नेपाल सद्भावना पार्टीले १२ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाल जनरक्षा पार्टीले २११ मत, राष्ट्रिय गणतन्त्र नेपाल पार्टीले २०० मत, धाम संस्कृतिपार्टीले ३१२ मत, सार्वभौम नागरिक पार्टीले १५६ मत, राष्ट्रिय मुक्तिमोर्चा नेपालले १४८ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ६९७ मत लगायत अन्य साना दलहरूले न्यून मत प्राप्त गरेका छन्।
सल्यानमा कुल १ लाख ६२ हजार ५४५ मतदाता रहेकामा ८३ हजार ८२५ मत खसेको थियो। तीमध्ये ८० हजार ७९० मत सदर भएका छन् भने ३ हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रत्यक्षमा नेपाली कम्युनिष्ट पार्टीका रमेश कुमार मल्ल विजयी हुनुभएको छ । उहाँले २३ हजार १ सय ८९मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दि राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २०,९०४ मत प्राप्त गर्नुभएको छ । चन्दलाई मल्लले २ हजार २ सय ८५ मतान्तरले पराजित गर्नुभएको हो ।
यस्तै नेपाली कांग्रेसका केश बहादुर विष्ट १७,५५८ नेकपा एमालेका गुलाब जंग शाहले १५३७३ मत प्राप्त गर्नु भएको छ । १ लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा ८३ हजार १ सय ६७ मत खसेको थियो । जसमा ३ हजार ४५८ मत बदर भएको थियो । ७९ हजार ४४९ मत मात्र सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।