सुजन बज्राचार्य
संखुवासभा, फागुन २५ गते । प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको निर्वाचनमा संखुवासभाबाट नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार डा अर्जुन कार्की निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले १५ हजार मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा राईले ९ हजार ८५७ मत प्राप्त गर्नुभएको छ।
निर्वाचित भएपछि कार्कीले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्नुहुदै संखुवासभा जिल्लाको समग्र विकासका लागि निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिल्लामा कुल १ लाख १९ हजार ६३० मतदातामध्ये ६२ हजार ९३७ मत खसेको थियो। तीमध्ये करिब ४ हजार मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवार कार्कीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।