• २६ फागुन २०८२, मङ्गलबार

सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत : मुख्यमन्त्री शाह

blog

मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, फागुन २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त मुलुकको निर्माणको पक्षमा अभिमत दिएका बताउनुभएको छ । 

लम्कीचुहा नगरपालिका–२ मा रहेको जनसेवा माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । मन्त्री शाहले फागुन २१ गते भएको निर्वाचनले मुलुक बनाउने र निर्माण गर्ने स्पष्ट जनादेश दिएको उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री शाहले जनताले राष्ट्रिय राजनीतिमा प्रकट गरेको अभिमतले मुलुकलाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउने दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई जनताको भावना र चाहनाअनुसार कार्यान्वयन गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । 

निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी तथा प्रत्यक्ष रूपमा खटिएका सम्पूर्ण जनशक्ति र आम जनतालाई धन्यवाद तथा आभार प्रकट गर्नुभयो । उहाँले संरचनागत सुधार नगरेसम्म विकासको गति तीव्र बनाउन नसकिने उल्लेख गर्दै आगामी दिनमा गठन हुने दुई तिहाइको सरकारलाई प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।