सन्तोष दहित
दाङ, फागुन २५ गते । दाङ जिल्लाका तीन निर्वाचन क्षेत्रमा खसेको कुल मतमध्ये ४.२८ प्रतिशत मत बदर भएको छ।
जम्मा गणना भएको दुई लाख ५१ हजार ३ सय ६८ मतमध्ये १० हजार ६ सय ९८ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो। उहाँले दुई लाख ४० हजार ६ सय ७० मत सदर भएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै बदर मत निर्वाचन क्षेत्र नं. १ मा भएको छ। उक्त क्षेत्रमा चार हजार ५७ मत बदर भएको हो। त्यसपछि निर्वाचन क्षेत्र नं. ३ मा तीन हजार सात सय ७६ मत बदर भएको छ। यस्तै निर्वाचन क्षेत्र नं. २ मा भने सबैभन्दा कम दुई हजार आठ सय ६५ मत बदर भएको छ।
निर्वाचन क्षेत्र नं. १ मा ८० हजार ४ सय ४६ मत गणना भएकामध्ये ७६ हजार ३ सय ८९ मत सदर भएको र चार हजार ५७ मत बदर भएको सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो। निर्वाचन क्षेत्र नं. २ मा ८२ हजार ३ सय ५ मत गणना भएकामध्ये ७९ हजार ४ सय ४० मत सदर भएको छ भने दुई हजार आठ सय ६५ मत बदर भएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा ८८ हजार ६ सय १७ मत गणना भएकामध्ये ८४ हजार ८ सय ४१ मत सदर भएको छ भने तीन हजार सात सय ७६ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दाङमा कूल चार लाख ३३ हजार ६६८ मतदाता रहेकामा दुई लाख ५१ हजार ८१९ मत खसेको थियो।