• २४ फागुन २०८२, आइतबार

पौडेल शिक्षक, लेखक हुँदै सांसद

blog

कास्की १ मा रास्वपाबाट निर्वाचित सांसद खड्कराज पौडेल (बिचमा) । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २३ गते ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पोखरा–१४, मझेरीपाटनका बासिन्दा खड्कराज पौडेलले पोखरा महानगरको प्रमुखमा मनोनयन गर्दा उहाँलाई चिन्नेहरु छक्क परेका थिए । मुख्य पार्टीहरुबिच गठबन्धन रहेको चुनावमा ‘अटेरी अभियान’ नाम दिँदै स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेलले जित हात पार्ने कुरै थिएन, चुनावपछि उहाँ पुरानै लेखन कर्ममा सक्रिय हुनुभयो ।

जेनजी आन्दोलनपछि फागुन २१ गते भएको निर्वाचनमा कास्की १ मा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट पाउँदा पनि उहाँका शुभेच्छुक र परिचितहरु अचम्मित नै थिए । त्यही शृङ्खलाको पटाक्षेप आइतबार भयो, पौडेल ठूलो मतान्तरसहित कास्की १ बाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको छ ।

साहित्य क्षेत्रमा गनेस पौडेल नामले परिचित उहाँ शिक्षण र वैकल्पिक राजनीतिको अभियान हुँदै रास्वपाको राजनीतिमा आइपुग्नुभएको हो । आइतबार सार्वजनिक परिणाम अुनसार उहाँले ३९ हजार आठ सय ८३ मत प्राप्त सानदार जित हाँसिल गर्नुभएको छ । २०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनलाई एक्लै हराएको नेकपा (एमाले)लाई तीस हजार मतान्तरले पछि पार्दै पौडेलले राजनीतिक यात्रामा रफ्तार बढाउनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार दुई सय १४ मत पाउँदा उहाँ नेकपा एमालेका वैनबहादुर क्षत्री (अधिकारी) १० हजार सय सय २९ मतमै सीमित बन्नुभयो । विजयपछि पौडेलले सबैको साथले मात्र देश निर्माण हुने बताउनुभयो । “देश सबै मिलेर बनाउने हो, मलाई साथ दिने, आलोचना गर्ने सबैप्रति आभारी छु, आलोचनात्मक र रचनात्मक सुझाव, सल्लाहको अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो ।

अङ्ग्रेजी साहित्यमा स्नातक गर्नुभएका उहाँ उनले पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसमेत गर्नुभएको छ । करिब १५ वर्ष समय शिक्षण पेशामा बिताउनुभएका उहाँ पछिल्लो समय पठन र लेखनमा व्यवस्त हुनुहुन्थ्यो । पोखरामा पठन संस्कृतिलाई संस्थागत बनाउने उद्देश्यले स्थापित र्‍यान्डम रिडर्स सोसाइटीका पूर्वअध्यक्षसमेत रहनुभएका पौडेल कुनै समय न्युजमार्ट नामको पत्रिकाको प्रकाशन समूहमा पनि हुनुहुन्थ्यो ।

उहाँको प्रयोगवादी शैलीको उपन्यास ‘पैताला’ बजारमा आइसकेको छ । स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिँदा उहाँको चुनावचिन्ह लौरो थियो । त्यही चुनाव चिन्हको साइनोले उहाँको सम्बन्ध काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)सँग गाँसियो । जेनजी आन्दोलनपछि बालेन रास्वपा प्रवेश गरी वरिष्ठ नेता बन्नुभयो । रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो ।

आफ्ना मित्र बालेनसँग पौडेल पनि रास्वपा आवद्ध हुनुभयो । वैकल्पिक राजनीति, सुशासन र नयाँ राजनीतिक संस्कृतिलाई मान्दै रास्वपा रोज्नुभएका उहाँ आइतबार कास्की १ बाट सांसद चुनिनुभएको छ । नयाँ राजनीतिक अभ्यास, पारदर्शिता र नागरिक सहभागितालाई मुख्य एजेन्डा बनाउनुभएका उहाँ जनताले दिएको जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्ने बताउनुहुन्छ । “जनताले स्पष्ट बहुमत र म्यान्डेट दिएका छन्,” उहाँ भन्नुहुन्छ, “अरु काम गरेर देखाउने बेला आएको छ, हामी हाम्रा मतदातालाई निराश हुन दिन्नौं, उत्साह भर्छाैं ।”