जनार्जन खत्री
सर्लाही, फागुन २२ गते । सर्लाहीमा क्षेत्र नं. २, ३ र ४ को मतगणना सुरु भएको छ । क्षेत्र नं. १ मा भने मतगणना सुरु गर्ने अन्तिम तयारी भइरहेको निर्वाचन अधिकृत टीकाबहादुर थापाले जानकारी दिनुभयो । क्षेत्र नं. १ मा बिहान ११ बजेपछि मतगणना सुरु गर्ने निर्णय भए बमोजिम उम्मेदवारका प्रतिनिधि भेला हुने क्रम सुरु भएको छ ।
अन्य तीनवटा निर्वाचन क्षेत्रमा बिहान १० बजेपछि मतगणना सुरु भएको हो । क्षेत्र नं. २ को जिल्ला समन्वय समितिको भवन मलंगवा, क्षेत्र नं. ३ को नापी कार्यालय हरिवन र क्षेत्र नं. ४ को बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता बजारमा मतगणना प्रारम्भ भएको हो ।
चारवटै निर्वाचन क्षेत्रमा बिहानैदेखि मतगणना सुरु गर्ने भनिए पनि दल तथा उम्मेदवारका प्रतिनिधि आउन ढिलो भएकाले समय पछि धकेलिएको हो । बिहीबार जिल्लाभरका ६२८ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो ।
निर्वाचन अधिकृतहरुको कार्यालयले दिएको विवरण अनुसार सर्लाही जिल्लाभर पाँच लाख ११ हजार ६०६ मतदातामध्ये तीन लाख १७ हजार ८११ जना अर्थात् ६२.१२ प्रतिसतले मतदान गरेका छन् ।