गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २२ गते । नेपालमा बिहीबार सफलतापूर्वक प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएकोमा छिमेकी भारत सरकाले खुसी व्यक्त गर्दै बधाई दिएको छ ।
नेपालमा निर्वाचनसम्बन्धी मिडियाका प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत सरकारका तर्फबाट खुसी व्यक्त गर्नुभएको हो । उहाँको भनाइ उधृत गर्दै नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, “हामी आज नेपाली नागरिकले गरेको चुनावको सफल सञ्चालन र आफ्नो लोकतान्त्रिक जनादेशको प्रयोगको स्वागत गर्दछौँ, जसमा उत्साहजनक सहभागिता देखिएको छ ।”
साथै उक्त वक्तव्यमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपालका जनताका साथै विभिन्न सरोकारवालालाई गत वर्ष असाधारण परिस्थितिको पृष्ठभूमिकाबिच भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिइएको छ ।
नेपालमा शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन जनाउँदै भारत सरकारले गरेको प्रतिबद्धता अनुसार निर्वाचनमा नेपाल सरकारको अनुरोध अनुसार आवश्यक सामग्री सहयोग गरिएको पनि भारत सरकारकातर्फबाट प्रस्ट पारिएको छ । वक्तव्यमा अगाडि भनिएको छ, “हामी पारस्परिक हितका लागि दुई देश र जनताबिचको बलियो बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर छौँ ।”
त्यस्तै नेपालस्थित अमेरिकी दूतावासले पनि नेपालमा सहजताका साथ निर्वाचन सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । दुई देशको समृद्धि र सुरक्षाको साझा लक्ष्यमा आगामी दिनमा सरकारसँग काम गर्न तत्पर रहेको पनि दूतावासले जनाएको छ ।