• १३ साउन २०८१, आइतबार

सङ्घीय निर्वाचनमा पार्टीको सिट बढ्छ : माधव नेपाल

blog

तस्बिर : रासस

काठमाडौं, साउन ४ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फुटाएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकताबद्ध गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताउनुभयो । अध्यक्ष नेपालले ओलीले अहंता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सर्वोच्चले पहिलाकै अवस्थामा जानु भनेर आदेश आइसकेपछि बाध्य भएर पार्टी निर्माण गर्न बाध्य भयौँ । २०७५ को जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । फेरि २०७५ फागुन २३ गतेको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टिए । यो फुटाउने काममा केपी ओलीजीले भूमिका खेल्नुभयो ।”

अध्यक्ष नेपालले त्यसको रहस्य एमालेलाई एकताबद्ध गराउने होला भन्ने आशा गरे पनि फागुन २८ गते एकलौटी बैठक बसेर ओली पक्षका मान्छेको मात्रै उपस्थितिमा एकलाैटीरुपमा पार्टीको विधान संशोधन भएको बताउनुभयो ।

“हामीले नेकपा एमाले कम्युनिष्ट पार्टी नरहेको थाहा पाएपछि हामी बाहिरियौँ । त्यसमा राजा महाराजाका गन्धहरु आए । त्यसपछि सबै साथीहरुले नयाँ ढङ्गबाट जानुपर्ने कुरा राखेपछि नै हामी नयाँ पार्टी निर्माण गरेर आएका हौँ”, उहाँले भन्नुभयो ।

स्थानीय निर्वाचनमा गठबन्धको गीत बढी गाएका कारण अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले गठबन्धनको भरोसा बढी गर्नाले र अरुको सहारामा बाँच्ने बानीले पार्टीलाई नोक्सान पुर्‍याएको औंल्याउनुभयो । अध्यक्ष नेपालले आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने दाबी गर्नुभयो । उहाँले चुनाव जित्ने ठाउँको सङ्ख्यामा वृद्धि मात्र नभइ चुनाव चिन्हको पनि प्रचार हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धनको गीत हामीले बढी गायौं । गठबन्धनको भरोसा धेरै गर्‍यौं । अरुको भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ । अरुको सहारामा बाच्ने बानी पर्दोरहेछ । अरुको सहारामा बाच्ने मान्छेले केही गर्न सक्दैन । हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनाैँ । तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो ।”

उहाँले आगामी निर्वाचनमा समानुपातिकमा २०/२५ लाख मत प्राप्त भयो भने २० देखि २५ सिट प्राप्त हुने र प्रत्यक्ष निर्वाचनमा हाम्रो क्षमता बढ्ने उल्लेख गर्नुभ्यो । आगामी प्रदेश र सङ्घको निर्वाचनमा धेरै सिट ल्याउनका लागि तयारीमा जुट्न आवश्यक रहेको बताउनुभयो ।