शेरबहादुर सार्की
बाजुरा, फागुन २१ गते । बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलका अनुसार यो कुल मतदाताको करिब ३५ प्रतिशत हो। उहाँले निर्वाचन आयोगले तोकेको समय अनुसार बिहान ७ बजेदेखि जिल्लाका ७७ मतदान स्थलका ११८ स्थायी र १ अस्थायी गरी ११९ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान सुरु भएको बताउनुभयो।
विगतका निर्वाचनमा धाँधलीको आरोप लाग्दै आएको बाजुरामा यसपटक भने शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ। मतदातामा पनि उत्साह देखिएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलका उम्मेदवार र एक स्वतन्त्र उम्मेदवार गरी आठ जना चुनावी प्रतिस्पर्धामा छन्।
बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य गरी कुल ८७ हजार ८६१ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो।