अर्जुन कार्की
बागलुङ, फागुन २१ गते । जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए ।
कारागारमा १ सय ४५ पुरुष र १६ जना महिला रहेकोमा ४९ जना पुरुष र ४ जना महिला मतदाता रहेका छन् । ५३ जना मतदातामध्ये एक जना काठमाडौँ स्थानान्तरण भएको र एक जना भर्खरै कैदमुक्त भएका कारण ५१ जनाले मतदान गरेको मतदान अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
मतदान केन्द्रमा दुई कर्मचारी खटाइएकोमा उहाँहरूले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । सबै मत खसिसके पनि मतपेटिका सिल गर्ने कार्यक्रम ५ बजे मात्रै हुने मतदान अधिकृत पन्तले बताउनुभयो ।
“यहाँ रहेका ५१ जना कैदीबन्दी र खटाइएको दुई जना कर्मचारी गरी ५३ जनाले मतदान गरी सक्नुभएको छ,” मतदान अधिकृत पन्तले भन्नुभयो, “जम्मा मतदाता कैदीबन्दी ५३ रहे पनि एक जना कैदमुक्त भएको र एक जना काठमाडौँ स्थानान्तरण हुनुभएकाले उहाँहरू मतदान गर्न आउनुहुन्न । यहाँ भएका सबैले मतदान सम्पन्न गरिसकेका छन् । तर, मतपेटिका सिल गर्ने कार्यक्रम ५ बजे मात्रै हुने छ ।”
बागलुङका अन्य मतदान केन्द्रमा भने धमाधम मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो ।