प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सल्यानमा १२ बजेसम्म २०.६३ प्रतिशत
मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर मतदान
शान्तिपूर्ण रूपमा जारी रहेको छ।
मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार जिल्लामा कुल एक लाख ६३ हजार पाँच सय ६७ मतदाता रहेकोमा मध्यान्हसम्म ३३ हजार सात सय ३७ मत खसेको छ।
पालिका अनुसार सबैभन्दा बढी मतदान शारदा नगरपालिकामा ३२.१९ प्रतिशत भएको छ। यहाँ २४ हजार ८ सय ३७ मतदातामध्ये सात हजार नौ सय ९४ मत खसेको छ। त्यसपछि बागचौर नगरपालिकामा २५.९४ प्रतिशत मतदान भएको छ, जहाँ २३ हजार १ सय २६ मतदातामध्ये ६ हजार मत खसेको छ।
यस्तै कालिमाटी गाउँपालिकामा २४.३७ प्रतिशत, सिद्ध कुमाख गाउँपालिकामा २२.३९ प्रतिशत, कपुरकोट गाउँपालिकामा २२.१२ प्रतिशत तथा त्रिवेणी गाउँपालिकामा २१.५१ प्रतिशत मतदान भएको छ।
त्यसैगरी छत्रेश्वरी गाउँपालिकामा १९.५२ प्रतिशत, बनगाड कुपिण्डे नगरपालिकामा १३.४३ प्रतिशत, कुमाख गाउँपालिकामा १०.०१ प्रतिशत र दार्मा गाउँपालिकामा ८.३५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
अस्थायी मतदान केन्द्रतर्फ सल्यान जिल्ला अदालतको खुलाचौर (क) मा २.५० प्रतिशत मतदान भएको छ भने कारागार कार्यालय, सल्यान र सल्यान जिल्ला अदालतको खुला चौर (ख) मा हालसम्म मतदान भएको छैन।
जिल्लामा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये १२ जना विभिन्न राजनीतिक दलका र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाको विशेष व्यवस्था गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली १३ स्थानमा खटिएका छन् भने एक हजार ४०६ जना म्यादी प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको उल्लेख्य सङ्ख्यामा परिचालन गरिएको छ।
प्रहरी उपरीक्षकको नेतृत्वमा जिल्लामा निर्वाचन सुरक्षा संयोजन गरिएको छ। प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले हालसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको जानकारी दिनुभएको छ।
राजनीतिक दलतर्फ नेपाली कांग्रेसका केशबहादुर विष्ट, नेकपा (एमाले)का गुलाबजङ्ग शाह, नेकपा का रमेश मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द तथा नेकपा (माओवादी केन्द्र)का चन्द्रबहादुर खड्का उम्मेदवार हुनुहुन्छ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेसनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदास विक, जनमोर्चा नेपालकी कमला डाँगी, मङ्गोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा प्रतिस्पर्धामा हुनुहुन्छ। स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवार हुनुहुन्छ।