• २१ फागुन २०८२, बिहिबार

सर्लाहीको बलरा–जब्दी मतदान केन्द्रको विवाद मिल्यो, मतदान सुचारु

blog

सर्लाहीको क्षेत्र नं. ४, बलरा नगरपालिका-४, जब्दी गाउँमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्र । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन २१ गते ।
सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका-४, जब्दी गाउँमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा उत्पन्न विवाद समाधान गरी मतदान पुनः सुरु भएको छ ।

एक जना वृद्धले सहयोगीको सहयोगमा मतदान गर्न खोज्दा विवाद भएपछि मतदान रोकिएको थियो । विवाद भएपछि सो मतदान केन्द्रमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहित जिल्लाका सुरक्षा प्रमुखहरूको टोली पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी कडरियाले विवाद समाधान गरेर मतदान सुचारु भइसकेको बताउनुभयो । सर्लाहीमा अन्य मतदान केन्द्रहरूमा पनि शान्तपूर्वक रूपमा मतदान जारी रहेको छ ।

बिहान मतदान सुरु हुनासाथ विवाद भएको क्षेत्र नं. ४ कै बसबरिया गाउँपालिकास्थित भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिले शान्तपूर्वक मतदान कार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको तथ्याङ्क अनुसार बिहान ११ः१५ बजेसम्म जिल्लाभर १६ हजार ३२ मत खसेको छ । जिल्लाभर पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् ।