कोकिला भण्डारी
धनकुटा, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका दिनेश राईले मतदान गर्नुभएको छ ।
बिहीबार उहाँले धनकुटा नगरपालिका ६ स्थित बहुउद्देश्य सामुदायिक भवन आँखा अस्पताल मतदान स्थलमा रहेको ‘क’ मतदान केन्द्रमा मत खसाल्नु भएको छ ।
मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् । सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो ।
धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका ११९ मतदान स्थलमा रहेका १६६ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।
जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । तीमध्ये ५० हजार ४८३ जना पुरुष र ५८ हजार ९४२ जना महिला मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । धनकुटामा तीन जना स्वतन्त्र र १४ राजनितिक दलका उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।