• २१ फागुन २०८२, बिहिबार

गुल्मीमा कुन उमेदवारले कहाँबाट मतदान गरे

blog

गुल्मीका प्रमुख दलका उमेदवार । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), फागुन २१ गते ।
गुल्मीका सबै मतदान स्थलका शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । जिल्लाका १४५  मतदान स्थलको २८४ केन्द्रबाट मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताउनुभयो । गुल्मीका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले पनि मतदान गरिरहनु भएको छ ।

गुल्मी–२ नेकपा एमालेका उम्मेदवार एमाले उपाध्यक्ष गोकर्ण बिष्टले रामराज्य माध्यमिक विद्यालयबा इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीमा भर्खरै मतदान गर्नुभयो ।

नेपाली कांग्रेस उम्मेदवार भुवनप्रसाद श्रेष्ठले महेन्द्र नमुना माध्यमिक विद्यालय रेसुंगा नगरपालिका वडा नम्बर १ तम्घास बाट मतदान गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले खस्थोक माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नम्बर २ बाट मतदान गर्नुभयो ।

त्यस्तै गुल्मी–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप कुमार ज्ञवालीले बम्घा आधारभूत विद्यालय रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ चौताराबाट मतदान गर्नुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार डा। चन्द्र भण्डारीले जनजागृती माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका–१ हुँगाबाट मतदान गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सत्यवती गाउँपालिका–६ ज्ञानोदय प्राथमिक विद्यालयबाट मतदान गरिसक्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले बालवोध आधारभूत विद्यालय चन्द्रकोट गाउँपालिका३ बाट मतदान गर्नुभएको छ ।

मुख्य चार दलका आठ उम्मेदवार मध्ये सात उम्मेदवारले मात्रै आफूलाई मतदान गर्न पाउनेछन् । गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गोविन्द पन्थीले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । उनको मतदान केन्द्र काठमाडौंमा छ ।

गुल्मीमा दुई लाख २९ हजार ५४९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार, महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता रहेका छन् । गत निर्वाचनको तुलनामा अहिले मतदाताको संख्या पाँच हजार २ सय ७३ ले बढेको छ ।

क्षेत्र नम्बर १ मा एक लाख २२ हजार १८६ जना मतदाता रहेका छन् । जसमा महिला ६२ हजार २७२ जना र पुरुष ५९ हजार ९१४ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १५५ मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जसमा महिला ५२ हजार ९३८ जना, पुरुष ५४ हजार ४२३ जना र अन्य दुई जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १२९ मतदान केन्द्र छन् ।