फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २१ गते । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार बिहान ११ बजेसम्म करिब २० प्रतिशत मत खसेको छ । जिल्लामा महिला २९ हजार छसय ६१, पुरुष ३१ हजार दुईसय ६९ र अन्य १ गरी ६० हजार नौसय ३१ मत खसेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
“अहिले ११ बजेसम्म १९.७५ प्रतिशत मत खसेको छ” उहाँले भन्नुभयो, “सबैतिर शान्तिपूर्ण रुपमा मतदान जारी छ ।” कास्की क्षेत्र नम्बर १ मा एक लाख १६ हजार आठसय ७८ मतदाता छन् भने क्षेत्र नम्बर २ मा ८४ हजार एकसय ३४ मतदाता कायम छन् । क्षेत्र नम्बर ३ मा एक लाख सात हजार पाँचसय ६० जना मतदाता छन् ।
कास्कीमा एकसय ५३ मतदानस्थल र तीनसय ६३ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र गरी तीनसय ६५ मतदान केन्द्र छन् । जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् ।
कारागारमा मतदान
कास्की कारागारमा शतप्रतिशत मतदान भएको छ । यहाँको अस्थायी मतदान केन्द्रका ३७ जना कैदीबन्दीले मताधिकार प्रयोग गरेका हुन् । मतदान अधिकृत गोविन्द श्रेष्ठले बिहान साढे ९ बजेसम्म सबैले मत हालिसकेको जानकारी दिनुभयो ।
दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५ मतदान केन्द्र र एकसय ५३ मतदानस्थल रहेको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना कार्य सुरु गर्ने तयारी छ ।