काठमाडौँ, फागुन २१ गते । बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२ औँ बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्ने विषयमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री (आमन्त्रित सदस्य), मुख्य सचिव, प्रधान सेनापतिसहितको उपस्थितिमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा समेत छलफल गरी मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायहरूलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्नेसमेत छलफल भएको विज्ञप्तिमा जनाइएको छ । त्यसै गरी गृह मन्त्रालयमा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ । बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त बनाइएकाले सबैलाई निर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल गरिएको थियो । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, चार वटै सुरक्षा निकायका प्रतिनिधि तथा गृह मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । गृह प्रवक्ता आनन्द काफ्लेले बैठकमा निर्वाचन सुरक्षाको तयारीबारे समीक्षा गर्दै सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालिएको हो ।’’
त्यसै गरी संवेदनशीलताका आधारलाई हेरेर जस्तै दुर्गम ठाउँ, सञ्चार सम्पर्क हुन नसक्ने ठाउँ, विगतको निर्वाचनमा संवेदनशील देखिएका क्षेत्रलाई हवाई पेट्रोलिङ गर्ने, निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्तिलाई कडाइका साथ कानुनी दायरमा ल्याउने र सँगसँगै सुरक्षा निकायको गस्ती र पेट्रोलिङलाई बढाउने निर्णयसमेत बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीसँग छलफल
यसैबिच गृहमन्त्री अर्यालले बिहीबार नै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जुम बैठकमार्फत छलफल गरी निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे जानकारी लिनुभएको गृह प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठकअघि प्रमुख जिल्ला अधिकारीहरूसँग बैठक गर्नुभएको थियो ।
नेपाली सेनाको अपिल
यसैबिच नेपाली सेनाले बुधबार एक अपिल जारी गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकायले एकीकृत र समन्वयात्मक ढङ्गले कार्य गरिरहेको अवस्थामा प्रसारित असान्दर्भिक र अतिरञ्जित सामग्रीप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनामा विश्वास नगर्न/नगराउनु हुन आमजनसमुदायमा सेनाले हार्दिक अपिलसमेत गरेको छ ।