कोकिला ढकाल
इलाम, फागुन २० गते । निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सेनालाई तैनाथ गरिएको इलामस्थित नेपाली सेनाको रणशार्दूल गण इलामले जनाएको छ ।
कम्पनी अपरेटिङ बेस तथा प्लटुन अपरेटिङ बेशहरूबाट नियमित पैदलर सवारी गस्ती सञ्चालनको तयारी गरिएको गणले जनाएको छ । कुनै पनि मतदान स्थल, केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र फौज परिचालन गर्न सक्नेगरी तयारी गरेको गणले बताएको छ ।
नेपाली सेनाले दुवै निर्वाचन क्षेत्रको मतदानस्थलबाट मतगणनास्थलसम्म मतदान सामग्रीको ढुवानी र मतगणना केन्द्रको सुरक्षामा विशेष योजना बनाइ कार्यान्वयन गरिसकेको छ । अहिले नेपाली सेनाले धेरैजसो मतदान केन्द्र र स्थानहरुको गस्ती पनि गरेको जनाइएको छ ।
सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह तथा भ्रामक सूचना र निर्वाचन विरोधी गतिविधिहरूको सूक्ष्म निगरानी तथा नियन्त्रणका लागि समेत सेनाले विशेष डेस्क खडा गरेको जनाएको छ ।