काठमाडौँ, फागुन २० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) को बुधबार निरीक्षण गर्नुभएको छ । गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनसम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो ।
सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ र निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ । यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ । प्रणालीबाट प्रहरी जनशक्ति, म्यादी प्रहरी, मतदानस्थल र मतपेटिकाको अवस्था, उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ ।
मतदानस्थल र मतपेटिकाको स्थलगत तथा संख्यात्मक अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचनको हरेक गतिविधिको 'मनिटरिङ' गर्न यो सफ्टवेयर विकास गरिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रणालीबारे जानकारी दिँदै मतदानस्थलमा मतपेटिका पुगे/नपुगेको, मतदान प्रक्रिया सुरु भए/नभएको तथा मतदान रोकिएको लगायतका विवरण प्राप्त हुने बताउनुभयो ।
उक्त केन्द्रमा ४१ वटा 'रियल टाइम' भिडियो क्यामेरा जडान गरिएको छ, जसबाट ४१ वटा मतदान केन्द्रको प्रत्यक्ष अनुगमन गरिन्छ । सो अवसरमा गृहमन्त्री अर्यालले सुरक्षा निकायले प्रविधि र यसको व्यवस्थापनमा ठूलो फड्को मारेको आभास भएको बताउनुभयो । उहाँले प्रविधिमा सबै 'अपडेट' हुन आग्रह गर्दै आगामी दिनमा सुरक्षा निकाय थप प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रूपमा अनुगमन गर्न सकिन्छ । मतदान केन्द्र, प्रदेश कमान्ड पोस्ट र जिल्ला सुरक्षा समितिबाट निर्वाचनका हरेक गतिविधिको निगरानी गरिनेछ । मोबाइल टोली र सीसी क्यामेराबाट 'लाइभ' अनुगमनका साथै सीमा सुरक्षाको अवस्थाबारे पनि जानकारी लिन यो प्रणाली उपयोगी हुनेछ ।