फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २० गते । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका तीनै क्षेत्रका मतदानस्थल र मत गणना स्थलसमेत तयार भएका छन् । सुरक्षाकर्मी र कर्मचारीहरु मङ्गलबारै कार्यक्षेत्रमा पुगिसकेका छन् ।
मतदानपछि निर्वाचन अधिकृतहरूका कार्यालयमा मतपेटिका आएको दुई घण्टा भित्रमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । कास्की क्षेत्र नं १ को पोखरा महानगरपालिका वडा नं १२ को कार्यालयमा मतगणना हुनेछ भने क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा मत गनिनेछ ।
क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा–५, मालेपाटनमा मतगणना हुनेछ । यसरी मतगणना सुरु भएपछि २४ घन्टामा नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले बताउनुभयो ।
“निर्वाचनको तयारी पूरा भएको छ,” मुख्य निर्वाचन अधिकृत बेलबासेले भन्नुभयो, “कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्नमात्र बाँकी छ ।” मतगणना स्थललाई तारजाली लगाएर व्यवस्थित बनाइएको र सिसिटिभीमार्फत मनिटरिङ गरिने उहाँको भनाइ छ । मतदान अधिकृतसहित कर्मचारीले मतदानस्थल निर्माण गरिसकेको छन् ।"
निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा गरी दुई हजार एक सय ८४ कर्मचारी र एक हजार ९२ स्वयम्सेवक परिचालन भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
कास्की क्षेत्र नम्बर १ मा एक लाख १६ हजार आठ सय ७८ मतदाता छन् भने क्षेत्र नम्बर २ मा ८४ हजार एक सय ३४ मतदाता कायम भएका छन् । क्षेत्र नम्बर ३ मा एक लाख सात हजार पाँच सय ६० जना मतदाता छन् । कास्कीमा एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र गरी तीन सय ६५ मतदान केन्द्र छन् । जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् ।
जिल्लामा एक हजार ५७ नेपाल प्रहरी र दुई हजार आठ जना निर्वाचन प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । बुधबार राजनीतिक दलका प्रतिनिधिहरुलाई परिचयपत्र बाँडिएको छ ।