केदार तिमल्सिना
बनेपा, फागुन २० गते । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जिल्लाका दुवै क्षेत्रमा बिहीबार हुने निर्वाचनका लागि सबै तयारी सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रका १८९ मतदानस्थलका ४०० वटै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् । "सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको छ, मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय बैठक राख्ने र निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी पनि गरिसक्नुभएको छ," मुख्य निर्वाचन अधिकृत न्यौपानेले भन्नुभयो । उहाँले अनुगमनका क्रममा कर्मचारी र सुरक्षाकर्मी उत्साहित देखिएको तथा मतदाता पनि मतदानका लागि तम्तयार रहेको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार निर्वाचन सम्पन्न भएर मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको दुई घण्टाभित्र सर्वदलीय बैठक राखेर मतगणना सुरु गरिनेछ । सबै मतदान केन्द्रका मतपेटिका आएपछि दिउँसो तीन र रातको समयमा दुई स्थानबाट गणना सुरु गरी शनिबार दिउँसोसम्म प्रत्यक्षतर्फको नतिजा घोषणा गर्ने गरी कर्मचारी व्यवस्थापन गरिएको छ ।
निर्वाचनका लागि जिल्लाका ४०० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी ६ जनाका दरले कूल दुई हजार ४०० कर्मचारी खटाइएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा महाभारत र खानीखोला गाउँपालिका भौगोलिक रूपमा विकट रहेकाले ती क्षेत्रका मतपेटिका ल्याउन २२ गते बिहानसम्म लाग्न सक्ने जनाइएको छ । क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा जिल्लाको क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ गरी कूल तीन लाख २६ हजार ६११ मतदाता रहेका छन् ।