• २० फागुन २०८२, बुधबार

बाँके क्षेत्र नम्बर २ को मतगणना स्थलमा तारजाली र सिसी टिभी जडान

blog

तारजाली लगाएर तयार पारिएको बाँके २ को मतगणना स्थल । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, माघ २० गते । फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय भवनको भुइँ तल्लामा रहेको ठुलो सभा हललाई छनोट गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जनाएको छ । 

मतगणना कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका प्रवक्ता एवं सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताउनुभयो । उहाँले मतगणना स्थलमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरेर सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । शिक्षालयको प्रवेशद्धारमै कडा सुरक्षा चेकजाँच हुने र सिमित व्यक्तिहरूलाई मात्र शिक्षालयको प्राङ्गणमा छिर्न दिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मतगणना कार्य निर्वाचन सम्पन्न भएपछि निर्धारित समय अनुसार सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता कार्कीले बताउनुभयो ।  

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थललाई तयार पारिएको छ । उहाँले क्षेत्र नम्बर १ को मतगणना स्थल राप्तीसोनारीको अगैयास्थित गाउँपालिकामा क्षेत्र नम्बर २ को नेपालगन्जस्थित भेरी प्राविधिकमा र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालयमा बनाइएको बताउनुभयो । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँकेमा क्षेत्र नम्बर १ मा ४८ मतदान स्थलमा १४१ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १ लाख २४ हजार ७२७ मतदाता रहेका छन् । त्यसैगरि बाँके क्षेत्र नम्बर २ मा ४३ मतदान स्थलमा १२४ मतदान केन्द्र रहेका छन् भने यहाँ १ लाख ८ हजार २९० मतदाता रहेका छन् । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा ४८ मतदान स्थलमा १३५ मतदान केन्द्र रहेका छन् । यो क्षेत्रमा नम्बर ३ मा १ लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।

बाँकेमा १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार १३९ पुरुष र ९ जना अन्य गरी ३ लाख ५० हजार ३७१ जना मतदाता रहेका छन् ।