• १२ असोज २०८१, शनिबार

उद्योगको उत्पादन क्षमता र आय खस्कियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ४ गते । नेपाली उद्योगहरूको उत्पादन क्षमता खस्कँदै गएको पाइएको छ । बढ्दो ब्याजदर र मागमा आएको कमीका कारण उद्योगहरूको आय खुम्चन पुगेको नेपाल उद्योग परिसङ्घले गरेको एक अध्ययनले देखाएको छ । नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर तयार पारिएको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमासिक विवरणअनुसार उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत मात्रै उपयोग गर्न सकेका छन् जुन अघिल्लो त्रैमासमा ७१ प्रतिशत थियो । 

आय खस्कनुमा बैङ्क ब्याजको पनि भूमिका हुन सक्ने औँल्याइएको छ । गएको माग फागुन र चैतको अवस्थालाई समेटेर गरिएको सो अध्ययनअनुसार  उत्पादनमूलक उद्योगले औसतमा १०.९६ प्रतिशत ब्याजमा ऋण लिएका छन् जुन अघिल्लो वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो । सेवा क्षेत्रका उद्योगले पनि १०.९ प्रतिशत दरको ब्याज तिर्नुपरेको छ । 

यस्तै कारणले उद्योगहरूको आय समीक्षा अवधिमा १२.८ प्रतिशतमा खुम्चिएको देखाइएको छ जुन अघिल्लो त्रैमासमा २७.१५ थियो । परिसङ्घ अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार बजारमा वस्तु तथा सेवाको मागसमेत घट्न थालेकाले पनि उद्योगहरूको आय खस्कन पुगेको बताउनुभयो । प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगमा हुने कोइला तथा पेट्रोलियम खपत र त्यसको प्रतिस्थापनबारे अध्ययन गर्न परिसङ्घलाई आग्रह गर्नुभयोे ।