• १४ माघ २०८२, बुधबार

नच्नौरीसँगै माघ विदाइ गर्दै थारू समुदाय

blog

तुलसीपुर उपमहानगरपालिका १० गाहुर्या गाउँका मघौटा नाचको टोली । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, माघ १४ गते ।
माघ सुरु भएसँगै दाङका थारू समुदाय मघौटा नाच र नच्नौरी खानमा व्यस्त भएका छन् । करिब एक हप्तासम्म घरघरमा र छिमेकी गाउँसम्म पुगेर मघौटा नाचेर सङ्कलन गरिएको पैसामध्ये केही रकम सामूहिक कोषमा राख्ने र केही रकम सामूहिक रूपमा बसेर नच्नौरी खाएर माघ पर्वलाई औपचारिक रूपमा विदाइ गर्ने चलन रहेको छ ।

घोराही उपमहानगरपालिका–१७ गुलरिया गाउँको गुलरिया टोल विकास संस्थाका अध्यक्ष अशोक कुमार चौधरीका अनुसार यस वर्ष मघौटा नाच आर्थिक सङ्कलनभन्दा पनि मौलिक संस्कृति संरक्षणमा केन्द्रित गरिएको थियो । “मघौटा नाचेर सङ्कलन भएको केही पैसाले नच्नौरी खायौं उहाँले भन्नुभयो, बाँकी रकम टोल विकासका लागि राखेका छौं, ।” यस वर्ष बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म एउटै समूह बनाएर मघौटा नाचिएको उहाँको भनाइ छ ।

परम्परागत रूपमा महिला–पुरुष र उमेर समूह छुट्टाछुट्टै बनाएर नाच्ने चलन भए पनि यस वर्ष तीन पुस्तालाई एउटै समूहमा समेटिएको थियो । यसले मघौटाका मौलिक भाका र मादलको ताल सिक्न सजिलो हुनुका साथै युवा पुस्तामा संस्कृतिको हस्तान्तरणमा सहयोग पुगेको अध्यक्ष चौधरी भनाइ थियो । यस्तै, दंगीशरण गाउँपालिका–३ हेकुली गाउँका महिलाहरूले पनि मघौटा नाचेर सङ्कलन भएको रकम समूहमा बचत गरेका छन् । समूहकी सदस्य सुल्फी चौधरीका अनुसार केही पैसाले नच्नौरी खाइयो भने केही रकम थारू मौलिक वेशभूषा, गरगहना तथा नाचका सामग्री सामूहिक रूपमा खरिद गर्न प्रयोग गरिएको छ । त्यस्तै घोराही उपमहानगरपालिकाका ७ शुक्रवार गाउँ र तुलसीपुर उपमहानगरपालिका १० गाहुर्या गाउँका तुलसीपुरस्थित गणेशपुर पार्कमा मघौटा नच्नौरी खाएर विदाइ गरेकाछन् । गाहुर्या गाउँकाका मटाँवा मनकुमारी चौधरीले गणेशपार्कमा सामुही नच्नौरी खाएर यस वर्षको माघलाई विदाइ गरेको बताउनुभयो ।  

मघौटा नाच सम्पन्न भएपछि ‘छोट्की मघ्ली’ भन्दै सामूहिक रूपमा नच्नौरी खाने चलन रहेको थारू अगुवा बेझलाल चौधरीले जानकारी दिनुभयो । “नच्नौरीको दिन कोही माछा मार्छन्, कोही मासुका लागि सुँगुर काट्छन् । सबै मिलेर सामूहिक भोजन गर्दै माघलाई विदाइ गर्छौं,” उहाँले भन्नुभयो । नच्नौरीपछि बचेको रकम गाउँका सामूहिक काममा प्रयोग गर्ने परम्परा पनि कायम रहेको छ ।