धादिङबेँसी समाचारदाता
धादिङबेँसी, माघ १४ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङका प्रमुख राजनीतिक दलले शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचनका लागि संयुक्त प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस धादिङको समन्वयमा मङ्गलबार धादिङबेँसीमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्व र दुवै निर्वाचन क्षेत्रका उम्मेदवारले शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचनका लागि प्रतिबद्धता जनाउनुभएको छ ।
दलहरूले धादिङ जिल्लामा शान्ति, अमनचयन, राजनीतिक तथा सामाजिक सद्भाव कायम गर्दै समावेशी र न्यायोचित विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । साथै निर्वाचन प्रचारप्रसारलाई जिम्मेवार, मर्यादित र मैत्रीपूर्ण बनाउने तथा मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
निर्वाचनका क्रममा दलहरूबिच उत्पन्न हुन सक्ने विवाद तथा असमझदारीलाई आपसी संवाद र समन्वयमार्फत समाधान गर्ने सहमति भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता समेत जनाइएको छ । संयुक्त प्रतिबद्धता कार्यान्वयनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, नागरिक समाज तथा सञ्चारकर्मीलाई सहयोग, निगरानी र खबरदारीका लागि आग्रह गरिएको छ । बैठकमा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा (एमाले) धादिङका कार्यवाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’, नेपाली कम्युनिस्ट पार्टी धादिङका संयोजक मनराज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका सङ्गठन सचिव रामहरि रिजाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका अध्यक्ष ध्रुवप्रसाद खनालसहित दुवै निर्वाचन क्षेत्रका उम्मेदवारको सहभागिता रहेको थियो ।