ललिता साह
बोदेबर्साइन (सप्तरी), साउन ४ गते । सप्तरी जिल्लामा चालू आर्थिक वर्षमा पन्ध्र सय ३१ महिला माथिको हिंसाको घटनामध्ये १७१ वटा घरेलु हिंसाको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाउँछ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रहरीमा गएको घटना सङ्ख्या ६३, सिधँै प्रहरीमा गएको घटना सङ्ख्या ५८ वटा र पीडितले सीधा अदालत पुगेर दर्ता गराएका मुद्दा ५० गरी घरेलु हिंसाको सङ्ख्या जम्मा १७१ पुगेको हो ।
विगत दुई वर्षदेखि घरेलु हिंसाको सिकार भएकी राजविराज–५ की ब्यूटी झा पटक–पटक सामाजिक मिलापत्रले थप हैरानी भएकोले दुई महिनाअघि अदालत पुगेपछि न्याय पाउनुभएको छ । एघार वर्षदेखि माइती खेदिएकी राजविराज–३ की आरती दास अदालत पुगेरै श्रीमान्को घरमा बस्ने वातावरण बन्यो । हिंसा सहेर वा सामाजिक पारिवारिक मिलापत्रको भरमा बस्दा सप्तरीका घरेलु हिंसा पीडित महिला वर्षौँदेखि थप पीडित बन्दै गएपछि पछिल्लो समय उनीहरू घरभित्रै हुने गरेको हिंसाविरुद्ध सप्तरीका महिला न्याय माग्न अदालतसम्म आउने क्रम बढेको छ । यसकारण पनि हिंसाको सङ्ख्यामा बढोत्तरी भएको जिल्ला अदालत सप्तरीका स्रेस्तेदार कुमार मास्केकोे तर्क रहेको छ ।
दाइजो कुम्ल्याउने तर बुहारी घरमा नराख्ने गलत मानसिकताको सिकार भएकी लक्ष्मीनिया विगत दुई वर्षदेखि प्रहरीमा धाउँदै हुनुहुन्छ । उहाँका आफ्नै ससुरा, सासू र श्रीमान्लाई उहाँ हैन दाइजो मात्रै चाहिएको छ । “२०७८ पुस १९ गते अदालतले अन्तरिम संरक्षनात्मक आदेश भयो । त्यसपछि त झन विपक्षीहरू उग्र बने र तेरो अदालतले कसरी बचाउन आउँछ भन्दै कोठामा थुनेर कुटपिट गर्न थाले,” उहाँले बताउनुभयो । सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षनात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ । आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाकुमारी भगत उपचारको लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो ।
पछिल्लो समय सप्तरीमा मागे जति दाइजो लिएर तामझामका साथ मागी विवाह गर्ने र विभिन्न कारण देखाएर केही दिनपछि बुहारी घरमा नराख्ने चलन बढ्दै गएको अधिकारकर्मी प्रतिक्षा चौधरीको बुझाई रहेको छ । देशको विभिन्न सञ्चारमाध्यममा आइसकेको सप्तरीको राजविराज नगरपालिकाकी ब्यूटी झा, आरती दास, सञ्जु दास, अग्निसाइर कृष्णासवरण–६ की सीमा कर्णलगायतको दर्जनौँ महिलामाथि भएको घरेलु हिंसाको घटना प्रतिनिधि उदाहरणका रूपमा रहँदै आएको छन् । वर्षौंदेखि पीडित यी महिला कानुनी उपचारमा गएकै कारण केही महिनायता आफ्नो घरमा पुनस्र्थापित भएका हुन् । यद्यपि उनीहरूमध्ये अधिकांश दाइजोकै कारण र केही मात्र घटनामा श्रीमान्–श्रीमतीबीच मोबाइल च्याट, रहनसहन, बोली विचार नमिलेर उनीहरू घरेलु हिंसामा परेको प्रादेशिक कानुनी सहायता केन्द्रकी प्रमुख अधिवक्ता किरण साह बताउनुहुन्छ ।
“व्यक्तिगत सुरक्षा र साइबर संवेदनशीलताबारे सचेतना नभएर मोबाइलबाटै अवाञ्छित कुराकानी, गोप्य दृश्य साटासाट गर्छन् । यसले आजका शिक्षित महिला तथा किशोरीमाथि घरभित्रै र बाहिर पनि हिंसा बढेका छन्,” अधिवक्ता डोमन साहले भन्नुभयो । गोपनीयता नराखेर प्रविधिको दुरुपयोग गर्दै लिने गरेका अपरिपक्व निर्णयका कारण आज समाजमा हुँदै आएको बालविवाह, अनमेल विवाह, बहुविवाहलगायतले महिलामाथि थप घरेलु हिंसा बढाइएको अधिवक्ता साहको तर्क छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीअन्तर्गत रहेका महिला तथा बालबालिका सेवा केन्द्रमा घरेलु हिंसाको मात्रै १७१ घटना दर्ता भएको र हामी महिलाको मुद्दाप्रति संवेदनशील भएर काम गरी कानुनी प्रक्रियामा सहयोग गर्दै आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
महिलामाथि नै भएको हिंसाको ठाडो उजुरी ८७० अन्य घटनामा महिलालाई लक्षित गरिएको घटना ४९० तथा श्रीमान् देबर सासू ससुरालगायत परिवार भित्रैका सदस्यबाट हिंसामा परेका घरेलु हिंसाका घटना यो वर्ष यस केन्द्रमा ५८ वटा दर्ता भएको महिला बालबालिका सेवा केन्द्र सप्तरीका तथ्याङ्क शाखा हेर्ने कर्मचारी रञ्जितकुमार सिंहले जानकारी दिनुभएको छ ।
सप्तरी जिल्लाको ग्रामीण महिलाको अवस्था हेर्ने हो भने उनीहरू परिवारबाट मात्रै नभई राज्यको मौलिक अधिकार प्रयोगमा पनि दोस्रो दर्जाको नागरिक सरह निरीह रहेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । “नागरिकता दिने क्रममा मैले यस्ता ग्रामीण सेवाग्राही महिलासँग भेटे तिनीहरू विवाह गरेको दशकौँ भइसक्यो । परिवारमा बच्चा जन्माउँछन्, लालन पालन गरेर घरको काम गरेर बस्छन् तर विवाह दर्ता नागरिकता वर्षौंसम्म पाएका छैनन्,” प्रमुख जिल्ला अधिकारी गौतमले भन्नुभयो । उहाँले परिवारका सदस्यले त्यस्ता महिलाको मौलिक अधिकारका कुरा पूरा गर्न उदारता नदेखाएको बताउनुभयो । “अन्य ठाउँको तुलनामा यहाँका महिला घरभित्रै र बाहिर पनि थप पीडित हुँदै आएका छन्,” उहाँले भन्नुभयो ।