गोरखापत्र अनलाइन
दमक, फागुन १८ गते । नेकापा (एमाले) का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताउनुभएको छ। झापा ५ को दमकमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विकसित चुनौतीहरुको सामना गर्न सक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न जरुरी रहेको उहाँको भनाइ छ । चुनावी मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झन अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उहाँले त्यस्ता पात्रहरुका कारण देश मियोबिनाको देश हुने जोखिम रहेको चर्चा गर्नुभयो । त्यस्तो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित अनिगार्य छ, उहाँले भन्नुभयो ।
देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखियो भन्दै भट्टराईले उनीहरुमा जिते छाती पिट्ने र हारे निराश हुने बाहेक कुनै उद्देश्य नरहेको बताउनुभयो । जेनजी आन्दोलनको क्षतिको दोस जबर्जस्ती एमालेतर्फ थुपार्न खोजिएको भन्दै उहाँले सो आन्दोलनमा देश ध्वस्त बनाउन संलग्नहरु चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न गर्नुभयो ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनको जस्तै फराकिलो अन्तरले झापा ५ बाट एमाले अध्यक्षको जित हुने विश्वास व्यक्त गर्नुभयो । एमाले अध्यक्ष ओलीलाई झापा ५ ले निरन्तर उम्मेदवार पाउनु यस क्षेत्रका मतदाताको लागि अवसर समेत रहेको उहाँले बताउनुभयो ।
क्षेत्रको चुनाव प्रचार उपसमिति संयोजक तथा पार्टी केन्द्रिय सदस्य इन्द्र भण्डारीले यहाँ सशक्त रुपमा भएको जनपरिचालन र मतदाताको सक्रियताले एमालेको जित सुनिश्चित गरेको बताउनुभयो।