• १७ फागुन २०८२, आइतबार

सब–इन्जिनियर हत्या प्रकरणका अभियुक्त पक्राउ गर्ने प्रहरी पुरस्कृत

blog

पुरस्कृत भएका प्रहरी कर्मचारी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन १७ गते ।
पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या प्रकरणमा संलग्न अभियुक्त पक्राउ गर्न सक्रिय भूमिका खेलेका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

सब–इन्जिनियर यादवको हत्या गरेपछि फरार रहेका अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल प्रहरी कर्मचारीलाई शनिबार पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी, केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रहरी निरीक्षक वीरेन्द्र बिसी, प्रहरी नायब निरीक्षक सुजन पुडासैनी र प्रहरी जवान अजय सहनी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनाको सफल अनुसन्धान गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउने उद्देश्यले नगदसहित पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिनुभयो । प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का र डीएसपी राईले पुरस्कृत गर्नुभएको हो ।

सिरहाको सुखीपुर नगरपालिका–९ बैशाखा घर भएका सब–इन्जिनियर यादवको फागुन ३ गते साँझ सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका–१० स्थित देबी टोलमा डेरा गरी बसेको घरभित्र गोली प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीले हत्याका मुख्य योजनाकार महोत्तरीको रामगोपालपुर नगरपालिका–५ घर भई सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत ३४ वर्षीय प्राविधिक सहायक गणेशकुमार महतोसहित उहाँका सालो बसबरिया गाउँपालिका–२ मानपुरका २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र मुख्य योजनाकारका भाइ २२ वर्षीय विजयकुमार महतोलाई पक्राउ गरेको छ ।

प्रहरी अनुसन्धानका अनुसार मुख्य योजनाकार गणेशकुमार महतोले जागिरको लोभमा सब–इन्जिनियर यादवको हत्या गराएको खुलेको छ । एक वर्षअघि सब–इन्जिनियर यादव लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुँदा गणेशकुमार वैकल्पिक उम्मेदवारको सूचीमा परेका थिए ।

सब–इन्जिनियर यादवको मृत्यु भए नियमअनुसार वैकल्पिक उम्मेदवारले जागिर पाउने लोभमा गणेशकुमारले आफ्ना सालो र भाइसँग मिलेर हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।