जनार्जन खत्री
सर्लाही, फागुन १७ गते । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोलबाट उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याइएको रतुवा मृग मरेको छ ।
शनिबार नारायणखोलास्थित माइस्थान खोला बगरमा दुईवटा कुकुरले लखेटी रहेको अवस्थामा रतुवा मृगलाई स्थानीयले उद्धार गरी प्रहरी चौकी पत्थरकोटमा बुझाएका थिए । कुकुरले टोकेर घाइते बनाएको उक्त रतुवा मृगलाई प्रहरीले लालबन्दीस्थित डिभिजन वन कार्यालयको जिम्मा लगाएको थियो ।
स्थानीयले फेला पारेर बुझाएको रतुवा मृगलाई कार्यालयमा ल्याएर उपचार गर्ने तयारी गर्दागर्दै मरेको डिभिजन वन कार्यालय सर्लाहीका वन अधिकृत हिरोहित चौधरीले जानकारी दिनुभयो । मरेको रतुवा मृगलाई कार्यालय परिसरमा प्रहरी र जनप्रतिनिधिको रोहबरमा खाल्डो खनी गाडिएको वन अधिकृत चौधरीले बताउनुभयो ।
रतुवा मृग उच्च पहाडी भेगदेखि भित्री मधेशमा समेत पाइने स्तनधारी जङ्गली जनावर हो । हेर्दा घोरल जस्तै देखिने यो जनावर रातो रङको हुन्छ ।
अध्याँरोमा बढी सक्रिय हुने रतुवा मृगलाई कतिपय ठाउँमा राते बाख्री तथा वन बाख्रोसमेत भन्ने गरिएको छ । रतुवालाई उद्धार गरी प्रहरी चौकी पत्थरकोटमा बुझाउने नारायणखोलाका स्थानीय रोशन दोङले आफूहरुको ठाउँमा पहिलो पटक यस्तो प्रकारको जङ्गली जनावर देखा परेको जानकारी दिनुभयो ।
दोङसँगै कुलदोज बोम्जन र साइला बलले रतुवा मृगलाई उद्धार गरेर प्रहरीमा बुझाउनुभएको थियो । कुकुरले टोकेर दौडनै नसक्ने अवस्थाको रतुवा मृगलाई ट्याक्टरमा हालेर पत्थरकोट ल्याएर प्रहरीलाई बुझाएको दोङले बताउनुभयो ।