• १७ फागुन २०८२, आइतबार

राजमार्ग तथा भित्री सडकमा मोटरसाइकल गस्ती गर्दै प्रहरी

blog

क्याप्शनः ‘भेहिकल चेन पेट्रोल’ अभियानमा प्रहरी कर्मचारीहरु । तस्बिरः शंकर केसी

शंकर केसी 
सल्यान, फागुन १७ गते ।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सल्यानमा नेपाल प्रहरीले मोटरसाइकलबाट गस्ती गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले राजमार्ग तथा भित्री ग्रामीण क्षेत्रहरूमा ‘भेहिकल चेन पेट्रोल’ अभियान सञ्चालन गरेको हो ।

प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीको कमान्डमा यस अभियानअन्तर्गत शुक्रबार २० वटा मोटरसाइकलमा ४० जना प्रहरी कर्मचारी परिचालन भई सल्यानका विभिन्न स्थानमा संयुक्त रूपमा गस्ती गरिएको थियो । पहिलो दिनमै करिब १२० किलोमिटर क्षेत्र समेटिएको प्रहरीले जनाएको छ । दोस्रो दिन शनिबार गस्तीको सङ्ख्या बढाउँदै जिल्लाका विभिन्न ठाउँमा टोलि बाँडिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब ७० जनाको प्रहरी टोलिले शनिबार कपुरकोट, काभ्रा, सल्ली लगायतको क्षेत्रमा मोटरसाइकल गस्ती गरेको छ । होलि पर्व तथा समग्र शान्ति सुरक्षाको विषयलाई ध्यानमा राखेर मोटरसाइकल, पैदल तथा अन्य सवारिसाधनबाट गस्ती गरिएको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि, मतदाता त्रास सिर्जना गर्ने प्रयास, अवैध चलखेल, तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्न गस्ती अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ । यस किसिमको गस्तीले मतदातामा सुरक्षा अनुभूति बढाउने, निर्वाचन आचारसंहिता उल्लङ्घन तथा अवैध गतिविधि नियन्त्रण गर्ने, संवेदनशील क्षेत्रको निगरानी सुदृढ गर्ने अपेक्षा गरिएको छ ।