ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १७ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ । निर्वाचनमा खटिएका मतदान अधिकृतहरुलाई अभिमुखिकरण गरी नियुक्ति पत्र दिएसँगै आइतबारदेखि निर्वाचन सामग्रीहरु बुझाउन थालिएको हो ।
आइतबार ५२ प्रकारका निर्वाचन सामग्रीहरु मतदान अधिकृतलाई बुझाउन थालिएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार मतपत्र र सुरक्षणसिल भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बझाउने छ । मतदान केन्द्रका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु तयारी अवस्थामा राखिएको र निर्वाचनमा खटिएका कर्मचारीहरुलाई बुझाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताउनुभयो ।
मतदानस्थल टाढा रहेका धबलागिरी गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीहरुलाई आज निर्वाचन सामग्री बुझाइने र भोली सोमबार मंगला गाउँपालिका र बेनी नगरपालिकाका मतदानस्थलहरुमा खटिएका कर्मचारीहरुलाई निर्वाचन सामग्री बुझाउने गरी तयारी भएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘भौगोलिक रुपमा टाढा रहेका मतदानस्थलमा खटिएका कर्मचारीहरुलाई आज निर्वाचन सामग्री बुझाउन थालिएको छ । सोमबार नजिकका मतदानस्थलमा खटिएकालाई पनि निर्वाचन सामग्री बुझाउने छौं । खटिएका कर्मचारीहरु सोमबार नै मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने,मतदानस्थल वरपर भएका राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु हटाउन लगाउने, निर्वाचन आचारसहिंताको अनुगमन गर्ने लगायतका निर्वाचनसम्बन्धी कामहरुको तयारी थाल्नुपर्ने छ ।’’
कर्मचारीले मतदाता नामवली, स्वस्तिक छाप, लाहा, मतपेटीका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटीका, मतपत्र, रबर म्याट, कपडा, कैची, मतदान निर्देशिका, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ५२ प्रकारका निर्वाचन सामग्री बुझेका हुन् । निर्वाचन सम्पन्न गर्न एक सय २२ मतदान अधिकृत, एक सय २२ सहाहयक मतादन अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दी बेनी नगरपालिकामा २२५७८, मंगलामा १३४४६, मालिकामा १३३५५, रघुगङ्गामा १४१५८, अन्नपूर्णमा १२०२९ र धवलागिरीमा १०८३१ गरेर ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् ।
जिल्लामा ८२ वटा मतदानस्थलमा १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ । दुईटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई सामान्य भनेर बर्गिकरण गरेको छ ।
जिल्लामा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । राजनीतिक दल र उम्मेदवारहरुले चुनावी कार्यक्रमलाई अन्तिमचरणमा पुर्याएका छन् ।