• १७ फागुन २०८२, आइतबार

नयाँ घर पाएका बाढीपीडितले सम्झँदै भगवती

blog

भगवती चौधरीले बाढीपीडितका लागि निर्माण गरी हस्तान्तरण गर्नुभएको घर ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १७ गते । असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढी खोलामा बाढीसँगै डर पनि बढ्दै गयो । सुनसरीको दुहबी–१, परास् टोकीका विपन्न परिवार, त्यो रातभर सुत्न सक्नु भएन । बाढीले कतिखेर घर बगाइदिने हो भन्ने त्रास बुढाबुढीदेखि साना बालकसम्ममा थियो । त्यही बस्तीमा बस्दै आउनुभएको थियो, ५० वर्षीय लक्ष्मण सदा ।

त्यो रात ठुलो बाढी आयो । लक्ष्मणका परिवारसहित १० परिवारका लागि त्यो रात जीवन र मृत्युको परीक्षा बनेर आएको थियो । गाउँभरि होहल्ला मच्चिएको थियो । धेरैले आफ्नोे घरबाट सकेजति सामान निकाल्नुभयो । न गाँस, न बास, न कपास । त्यही खोला किनारको बस्तीमा बस्दै आउनुभएको थियो ६० वर्षीया लीला ऋषिदेव । उहाँ पनि जसोतसो ज्यान बचाउनुभयो।

त्यो रात लक्ष्मण र लीलाको घर त रहेन, सँगै १० परिवारको घर पनि बुढीखोलाको बाढीले बगायो । बल्लतल्ल आश्रय लिन बनाइएको साना झुपडी पनि बाढीले बगाएपछि सबैको आँखामा एकै प्रश्न थियो—अब कहाँ बस्ने ? कहाँ जाने आश्रय लिन ?

त्यो समस्या समाधानका लागि जनप्रतिनिधि भगवती चौधरीलाई आग्रह भएपछि उहाँ बाढीपीडितको सहारा बनेर आउनुभयो । नजिकैको सुरक्षित नयाँ बस्तीमा भगवती चौधरीको पहलमा १४ वटा नयाँ घर तयार भयो । एक कार्यक्रमबिच बाढीपीडितलाई सो घर हस्तान्तरण भयो । त्यो कहालिलाग्दो विपदका बेला नयाँ घर पाउँदा उहाँहरूको जीवनमा सुरक्षा र आशा दुबै पलाएको पीडितको भनाइ छ । 

लक्ष्मण सदा र उहाँका छिमेकीहरूले नयाँ घर पाउनुभयो । नयाँ घरले केवल चार भित्ता र छानो मात्र दिएन, उहाँहरूको डर, असुरक्षा र पीडालाई थाम्ने श्रय बन्यो । घर सरेपछि ओढ्ने–ओछ्याउने, चामल–दाल सबै भगवती चौधरीको अग्रसरतामा फरवार्ड संस्थाले उपलब्ध गरायो।

त्यहाँका बासिन्दा भन्छन्, ‘नयाँ घर भगवती चौधरीले उपलब्ध नगराउनुभएको भए हाम्रो बिचल्ली हुने थियो। धन्न उहाँको दर्बिलो साथ पायौँ । भगवती नै हाम्रो भगवान् बनेर आउनुभयो ।’