• १७ फागुन २०८२, आइतबार

बागलुङका दुई हजार ३ सय २ किशोरीले एचपिभि खोप लगाए

blog

किशोरीलाई एपिभी खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन १७ गते । जिल्लाका दुई हजार ३ सय २ जना किशोरीले पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभि) खोप लगाएका छन् । यो वर्ष जिल्लाका २ हजार ३ सय १३ जना किशोरीलाई एचपिभि खोप लगाउने जनस्वास्थ्य कार्यालय बागलुङको लक्ष्य थियो । 

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार, गलकोट नगरपालिकाका २ सय ६८, जैमिनीका १ सय ५८, ढोरपाटनका ४ सय १९, बागलुङ नगरपालिकाका ५ सय ५६, काठे खोलाका १ सय ३५, तमान खोलाका १ सय १, तारा खोलाका ५५, निसी खोलाका २ सय ३५, बडिगाडका ३ सय ९ र बरेङ गाउँपालिकाका ७३ जना एचपिभी खोप लगाएका हुन् ।

खोप लगाएकामध्ये २ हजार २ सय ७१ जनाले विद्यालयमा, १४ जना विद्यालय नजाने र अभियानमा छुटेका १७ किशोरीले एचपिभी खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । ‘‘छुटफुट भएका किशोरीलाई खोप अभियानमा जोड्ने काम चलिरहेकाले प्रगति सङ्ख्या बढ्न सक्छ’’ खत्रीले भन्नुभयो । 

गतवर्ष ११ हजार १ सय ७७ जना किशोरीले एचपिभी खोप लगाएका थिए । तोकिएको उमेर समूहका कोही किशोरी नछुटाउने गरी जनस्वास्थ्य कार्यालयले फागुनभित्र जिल्लाका १० वर्ष उमेर पुगेका तथा कक्षा ६ मा पढ्ने किशोरीलाई एचपिभी खोप लगाउन विद्यालय र घरघरसम्म पुग्नेगरी टोली समेत गठन गरेको थियो ।

एचपिभी खोप अभियानसँगै नियमित खोप सेवा र छुटेका बालबालिकालाई खोपमा जोडिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । जिल्ला खोप समन्वय समितिको बैठकले खोप लगाउन सबै स्वास्थ्यकर्मीलाई खटाएको थियो । 

खोप तालिका अनुसार, बागलुङ, ढोरपाटन, जैमिनी नगरपालिका, बरेङ, बडिगाड, निसीखोला, तमानखोला र काठेखोला गाउँपालिकामा फागुन १० देखि १५ गतेसम्म र गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका किशोरीलाई फागुन १ देखि ५ गतेसम्म स्वास्थ्यकर्मीहरूले विद्यालय र घरघरमा पुगेर खोप लगाउनुभएको थियो । 

जनस्वास्थ्यले फागुन महिनालाई खोप महिनाको रूपमा नियमति अभियान सञ्चालन गर्ने जनाएको छ । हरेक वर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्दै अद्यावधिक गर्नुपर्ने प्रावधान छ । आगामी वैशाख महिनाभित्र खोप पुर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गर्ने योजना छ